सल्यान । सल्यानका छापाखानाहरूमा विहेका लागि कार्ड छाप्दा वेहुला–वेहुलीको जन्मदर्ता अनिवार्य हुने भएको छ । बालविवाह न्यूनिकरण गर्ने उदेश्यले जिल्लामा रहेका छापाखाना सञ्चालकहरूले विहेको कार्ड छाप्दा जन्मदर्ता अनिवार्य हेरिने प्रतिवद्वता गरेका हुन् । २० वर्ष भन्दा कम उमेरको भए विहेको कार्ड छाप्न मनाही गरिने उनीहरूले जनाएका छन्् ।
शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागी छापाखाना तथा अफसेट प्रेसका सञ्चालकले बालविवाह न्यूनिकरणका लागि प्रहरीले थालेको अभियानमा सहयोग पु¥याउने उदेश्यले यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन् । बालविवाहलाई न्यूनीकरण गर्न सकारात्मक सनदेशका लागि वर–वधुको जन्म दर्ताको कागज माग्ने निर्णर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले बताए ।
‘बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधु दुवैको तर्फवाट कार्ड छपाई हुनछ । यदि केटाकेटीको उमेर २० वर्ष मुनी भए हामी विहेको कार्ड छाप्नेछैनौँ’, शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले भने । बालविवाह सामाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक रहेको उनको भनाई छ ।
सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले बालविवाह न्यूनीकरण गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ । स्थानीय तह र प्रहरीको सहकार्यमा हालसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणीगाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्वर सहित बाल बिवाह रोक्न घर–घरमा स्टिकर टाँस गरिएको छ । जिल्लामा रहेका ४६ हजार घरधुरीमा बालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीको योजना छ ।
‘सबै पक्षसँग समन्वय तथा सहकार्य गरेर बालविवाह रोक्न लागेका छौ’, प्रहरी नायव उपरिक्षक खतिवडाले भने, ‘अहिलेसम्म तीन जना पुरोहित र सातजना अभिभावकलाई कानूनी कारवाही गरिएको छ ।’ स्थानीयतहका जनप्रतिनिधिले कम उमेरमा गरिने बिहे बहिस्कार गर्ने जनाएका छन्् ।
बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ । जनचेतना र कानूनी प्रक्रियासँगसँगै अगाडी वढाउने गरी आफुहरू लागि परेको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार नगरभित्रका सवै जनप्रतिनिधि र कर्मचारीले कम उमेरमा गरिने बिहेको निम्तो अस्विकार गर्ने गरिएको छ । जिल्लामा क्रियाशिल पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिवद्धता जनाएका छन्् । जिल्लाका ९४ जना पुरोहितले सामुहिक प्रतिबद्धता जनाएका हुन् । पुरोहित तथा ज्योतिषीले २० वर्ष मुनीको उमेरमा गरिने बिहेमा सहभागी नहुने सामुहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिए ।