जुम्ला सदरमुकाम खलंगामा एक मेगावाटको सोलार प्लान्ट स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले सदरमुकाम खलंगा बजारमा नियमित विद्युत आपूर्ति हुन नसक्दा विद्युतीय सामाग्री सञ्चालनमा समस्या आउन थालेपछि उक्त सोलार प्लान्ट स्थापना गर्ने भएको हो ।
सोलार प्लान्ट राख्नको लागि सबै तयारी भइसकेकाले ६ महिनाभित्र खलंगामा विद्युत आपूर्ति भइसक्ने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए । ‘खलंगा बजारलाई उज्यालो बनाउन धेरै विकल्पका बारेमा सोचियो तर त्यसबाट राहत प्रदान गर्न सकिएन ।’ कानून मन्त्री भण्डारीले भने, ‘विद्युत आपूर्तिको अल्पकालीन समाधानका लागि अन्तिममा एक मेगावाटको सोलार प्लान्ट राख्न लागिएको हो ।’ परियोजनाले जुम्ला उज्यालो हुने विश्वास व्यक्त गरेका मन्त्री भण्डारीले राष्ट्रिय प्रसारण लाइन नपुग्दासम्म नियमित रूपमा विद्युत आपूर्ति गर्ने उद्देश्यले सो प्लान्टको स्थापना गर्न लागिएको जानकारी दिए ।
जुम्लाको खलंगा उज्यालो बनाउन शुरू गरिएको सोलार प्लान्टका लागि ६० प्रतिशत अनुदान, २० प्रतिशत सहुलियत कर्जामा उत्पादकहरूले निर्माण गर्ने गरि प्रक्रिया अघि बढिसकेको जानकारी मन्त्री भण्डारीले दिए । ‘सोलार प्लान्ट राख्नको लागि यसअघि प्राविधिक टोली पुगेर अध्ययन समेत गरेको थियो । वैकल्पिक उर्जाको टोली पुनः अध्ययन गर्न आउँदैछ, डिपिआर समेत बन्दैछ ।’ उनले भने, ‘जुम्ला उज्यालो बनाउने अभियान अघि बढिसकेको छ । जिल्लावासीले धेरै दिन अध्याँरोमा रहनु पर्ने अवस्था छैन ।’
‘सांसद विकास कोषको ५० लाख रूपैयाँमा खरिद गरेको डिजेल प्लान्ट चलाउन सकिएको छैन ।’ जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले भने, ‘विद्युत प्राधिकरणले पठाएको डिजेल प्लान्ट र विद्युत उत्पादनका साधन सबै थन्किएका छन् । यहाँका नागरिक अँध्यारोमा जीवन चलाइराखेका छन ।’
सोलार प्लान्ट अध्ययनका लागि शेखर गोल्छासहितको चिनियाँ टोली जुम्ला पुगेर फर्किसकेकोे जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए ।
‘उनीहरू सोलार प्लान्टमार्फत जुम्ला उज्यालो बनाउन आतुर छन । सबै सामाग्री तयारी अवस्थामा राखेका छन,’ उनले भने, ‘विद्युत प्राधिकरण र वैकल्पिक उर्जाबीच सम्झौता हुने वित्तिकै जुम्लामा ६ महिनाभित्र नियमित विद्युत आपूर्ति तथा सोलार प्लान्टको कार्य शुरू हुन्छ ’। यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदरमुकाममा आयोजित कृषि महोत्सवमा सहभागि हुन आउँदा सदरमुकामको विद्युत समस्या समाधान गर्न सोलार प्लान्ट राखिने आश्वासन दिएका थिए ।
विद्युत प्राधिकरणको कार्यालय स्थापना
नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आफ्नो कार्यालय स्थापना गरेको छ । जुम्लामा विधुतको चरम अभाव भोगिरहेको अवस्था र साना जलविद्युत उपभोक्ता समितिले सञ्चालन गरिहेको बिजुली अव विद्युत प्राधिकरणले जिम्मा लिने तयारी भईरहेको वेला प्राधिकरणले आफ्नो कार्यालय स्थापना गरेको हो ।
प्राधिकरणले जुम्लामा ३३ केभीको राष्ट्रिय प्रसारण लाईन जोडेर सञ्चालन गर्ने र यहाँ उत्पादित बिजुलीलाई समेत एकिकृत गरेर सञ्चालन गरी प्रयाप्त विद्युत आपुर्ति गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको इन्जिनियर हेमन्त साउदले जानकारी दिए । उनले भने, ‘कार्यालय स्थापना गरी प्राधिकरणको काम सुरू भएको छ ।’ यद्यपी औपचारिक उद्घाटन भने हुन बाँकी नै रहेको उनले जानकारी दिए । प्राधिकरणले कार्यालय प्रमुख गौरब पाण्डे सहित ११ जनाको कर्मचारी टोली जुम्ला खटाएको प्राधिकरणले यस अघि ३३ केभीको लाईन दैलेख–कालीकोट हुदै जुम्ला पु¥याउँन अघिल्लो वर्ष नै टेण्डर गरिसकेको छ ।
राष्ट्रिय ग्रिड लाईन जुम्लामा पु¥याउँने लक्ष्य सहित जिल्लामा प्राधिकरणका अन्य काम पनि रफ्तारमा अगाडि बढ्ने कार्यालय प्रमुख पाण्डेले बताए । जिल्लामा सञ्चालित साना जलविद्युत उपभोक्ता समितिको जिम्मा समेत प्राधिकरणले लिने विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रकले जानकारी दिए । २०४० सालमा २०१ किलोवाटको खलंगा साना जलविधुत आयोजनाको सञ्चालनको जिम्मा उपभोक्ता समितिलाई दिएको थियो । ग्राहक बढ्दै गएपनि आयोजनाको क्षमता नबढाउँदा विद्युत अपुग भएर नियमित आपूर्तिमा समस्याहुँदा खलंगा लगायत जिल्लाका अधिकांश क्षेत्र अहिले अन्धकार छन् ।