सुर्खेत। जिल्लाको चंखेली गाउँपालिका–६ मासिधारा गाउँमा सिजनल फ्लुका कारण पाँच जनाको मृत्यु भएको छ । गएको २६ पुसदेखि शुक्रबारसम्म रूघाखोकी र ज्वरोका कारण मासिधारामा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ का ४५ वर्षिय मदन शाही, ५० वर्षीय जानुकला शाही, ६५ वर्षिय दधिराम सार्की, ६० वर्षिया गोरी सार्की र ६० वषिया प्याउरी शाही रहेको चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले जानकारी दिए ।
बुढाका अनुसार गएको एक महिनादेखि निरन्तर फैलिएको सिजनल फ्लुका कारण पछिल्लो समय गाउँमा रूघाखोकीका विरामीको संख्या बढेको छ । ‘गाउँमा भएको स्वास्थ्य चौकीमा दैनिक आउने सिजनल फ्लुका विरामीको संख्या निकै बढेर आउने गरेका छन् ।’ उनले भने, ‘फ्लुका कारण बृद्धबृद्धालाई गम्भीर असर गरेको छ ।’
ज्वरो आउने, टाउको दुख्ने, छाती÷शरिर दुख्ने, खान मन नलाग्ने र लामो खोकी लाग्ने पिरामीले गाउँ भरिएको चंखेली गाउँपालिका–६ मासिधाराका नरबहादुर शाहीले बताए । ‘अहिले मासिधारा गाउँमा रूघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन ।’ कर्णालीपत्रसँग उनले भने, ‘यहाँका विरामी मध्ये चिसोका कारणले ५ जनाको मृत्यु भइसकेको छ ।’
चिसो बढेपछि हुम्ला जिल्लाका अधिकांश गाउँहरूमा सिजनल फ्लु विरामी बढ्दै गएको पाइएको जिल्ला अस्पताल हुम्लाका डाक्टर नविन रोकायाले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला सदरमुकाम सिमकोटमा भएको जिल्ला अस्पतालमा रूघाखोकी, ज्वरो र दमका बिरामी दैनिक ३० देखि ४० जनासम्म आउने गरेका छन् ।
चिकित्सकको टोली हुम्ला जादैं
हुम्ला जिल्लाको चंखेली गाउँपालिका–६ मासिधारा गाउँमा फैलिएको सिजनल फ्लुका कारणले पाँच जनाको मृत्यु भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चिकित्सकसहितको टोली पठाउने तयारी गरेको छ । फ्लुका कारण ५ जनाको ज्यान गएपछि गाउँ र जिल्लाबट आएको रिर्पोटका आधारमा मन्त्रालयले तत्कालै निर्णय गरेर औषधि र ल्यावटेष्ट गर्ने टेिक्नसियनसहितका चिकित्सकको टोली स्थल मार्ग हुँदै त्यसतर्फ पठाउन लागिएको हो ।
सिजनल फ्लुका विरामी बढेको खबर मन्त्रालयमा आउने बित्तिकै हामीले आपतकालीन निर्णय गरेको जानकारी दिएका सामाजिक विकास मन्त्री दल रावलले स्थलगत अवस्था बुझ्न र विरामीको नमूना संकलन गर्न एक जना चिकित्सक, एक जना ल्याव टिक्निसियन र औषधीसहितको टोली पठाउन लागिएको जानकारी दिए ।
‘आइतबार बिहानै चिकित्सकसहितको टोली हुम्ला लागेको छ ।’ उनले भने, ‘सिजनल फ्लु फैलिएको ठाउँको अवस्था बुझेर हामीले थप पहल चाल्ने छौं ।’ सिजनल फ्लुले जटिल प्रकारको रूप नलिएकाले चिकित्सकसहितको टोली गाडीबाट मुगु हुँदै हुम्लाको मासिधारा पठाउन लागिएको उल्लेख गरेका मन्त्री रावलले टोलीले संकलन गरेर ल्याउने नमुनाका आधारमा तत्काल अरू पहल चाल्ने जानकारी दिए ।