हुम्ला । हुम्लामा रहेको संस्कृतिलाई समाजमा देखाउनका लागि अन्तरजातीय प्रेम कथामा आधारित ‘रातो टालो’ भिडियोको पोष्टर सार्वजनिक भएको छ । पचास वर्ष अगाडि फस्टाएको अन्तरजातीय प्रेम कथामा आधारित भिडियोको पोस्टर सार्वजनिक भएको हो ।
अहिले पनि प्रेममा भिन्न र फरक धारणा राख्ने हुम्लाको सामाजिक मान्यतालाई बाहिर ल्याउन यो भिडियो तयार गरिएको हो । नितान्तरुपमा अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसक्ने हुम्लाको सामाजिक मान्यतालाई भिडियोले जस्ताको तस्तै उतार्ने प्रयास गरेको छ ।
अहिलेको जमाना त त्यस्तै मान्यता नहटेको सन्दर्भमा पचास वर्ष अगाडि कस्तो थियो होला सबैको कौतुहलताको विषय हुन सक्छ भन्ने चिरफार गर्न यो भिडियो निक्कै दुःख कष्टका साथ तयार पारिएको स्थानीय युवा एवम् भिडियाका कथाकार जगदीश शाहीले बताए ।
हालको कर्णाली प्रदेशको हुम्ला जिल्लामा त्यतिबेला फस्टाएको अन्तरजातीय पौराणिक प्रेम विवाहलाई उतारिएको उनले बताए । आगामी फागुन २ गते भ्यालेनटाइनका दिन काठमाडौं प्रिमियर गर्ने सो भिडियोको पहिलो पटक पोस्टर सार्वजनिक भएको हो ।
हुम्लाकै गाउँ बस्तीमा गएर भिडियोको सुटिङ गरिएको थियो । पोस्टरमा युवना भट्टराई र सूर्यबहादुर शाहीको फिचर्ड रहेको छ ।
हुम्लाको खस भाषामा आधारित रहेर पचास वर्ष अगाडिको अशिक्षित समाज, शासन व्यवस्था, परम्परागत मूल्य र मान्यताहरुलाई उजागार गरिएको भिडियोको निर्देशन डायमन्ड उप्रेतीले गरेका छन् ।
‘रातो टालो’मा हमालको प्रस्तुती, कथा, गीत, संगीत शब्द, स्वर रहेको छ । भिडियोमा शोभा शाही, छिरिङ सोनामा लामाको पनि अभिनय रहेको छ ।
आश्मा पोखरेलको सहनिर्देशन, इतुशा पोखरेलको छायांकन रहेको भिडियोमा अभिनाश लामाको सहछायांकन रहेको छ । भिडियो ‘रातो टालो’ प्रोडक्सन र स्टुडियो लोइथोको ब्यानरमा बनेको हो ।