सुर्खेत । सडक दुर्घटनाको अवस्था निकै डरलाग्दो देखिएको कर्णाली प्रदेशमा यातयातका साधनहरुको चरम लापरबाही हुने गरेको छ । ट्राफिक प्रहरी कार्यालयको रेकर्डमा उल्लेख गरिएको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गरेवापत हरेक दिन ७१ वटा सवारी कारबाहीको दायरामा आउनुले पनि यातायातका साधनहरुको लापरबाही निकै बढी भएको देखाएको छ ।
चालु आर्थिक वर्षको शुरुका ६ महिनामा बस, ट्रक जीप, कार, ट्याक्टर, मोटरसाइल र टेक्पो गरेर प्रदेश भर १२ हजार सात सय ९२ वटा सवारी साधनले ट्राफिक नियम मिचेको आरोपमा कारबाहीमा परेका छन् । जुन संख्यालाई विश्लेषण गर्दा हरेक दिन ट्राफिक प्रहरीको कारबाहीमा पर्ने यातायातका साधनहरुको संख्या ७१ हुन आउँछ ।
ट्राफिक नियमको पालना नगरी यात्रु बढी बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सडक लेनको पालना नगर्ने जस्ता नियम उल्लंघन गर्ने यातायातका साधनहरुलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
कार्यालयका अनुसार कारबाही पर्ने यातायातका साधनहरूमा एक हजार पाँच सय ९२ बस, एक हजार पाँच ४३ वटा ट्रक, दुई हजार पाँच सय १३ जीप, एक हजार एक सय ६९ ट्याक्टर छन् । त्यसैगरी तीन हजार छ सय ८२ मोटर साइकल, एक हजार नौ सय ३७ टेम्पो यो अवधिमा ट्राफिकको कारबाहीमा परेका छन् । विभिन्न खाले ट्राफिक नियम पालना नगरेर कारबाहीको दायरामा पर्ने अन्य सवारी साधनहरुको संख्या ७७ वटा छन् ।
ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार नियम उल्लंघन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी मोटर साइकल र टेम्पोहरु छन् । कारबाही परेको टेम्पोहरु सुर्खेतमा चल्ने टेम्पो संख्याभन्दा बढी रहेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता मेघराजप्रसाद चौरासियाले बताए । ‘कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लामा खासै टम्पो चल्दैनन् ।’ उनले भने, ‘टेम्पो कारबाही परेको संख्या वीरेन्द्रनगरमा चल्ने संख्याभन्दा बढी हो ।’
सवारीका साधन वृद्धि हुँदै गएकाले पनि ट्राफिक नियम उल्लंघन गर्नेको संख्या वृद्धि भएको प्रवक्ता चौरासियाको ठहर छ । अव्यवस्थित सवारी चालक अनुमती पत्र प्रदान गरिनु, सडकको स्तर निकै कमजोर हुनु, अन्य क्षेत्रमा चलाएर पुराना भएका यातायतका साधन कर्णालीमा ल्याइनुलगायतका कारणले कर्णालीमा बढी संख्याका यातायातका साधनहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् ।
प्रवक्ता चौरासियाकाअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा ३२ हजार १५, आर्थिक वर्ष २०७४/०७५ मा ४१ हजार पाँच सय ९३ र आर्थिक वर्ष २०७५/०७६ मा ५८ हजार तीन सय ४१ सवारी साधन कारबाहीमा परेका थिए ।
नेपालमा ट्राफिक नियमको उल्लंघनका घटना बढ्दै जान थाले पनि जरिवानाको दर वृद्धि गरेर ट्राफिक नियम उल्लंघन गर्ने संख्यालाई नियन्त्रण गराउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विगतमा ट्राफिक नियम उल्लंघन गर्नेलाई एक हजार पाँच हजार रुपैयाँ जरिवाना गर्ने नयाँ संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा प्रस्ताव गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानाकारी दिए ।
‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले भने, ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढिरहेको छ । त्यसकारण जरिवाना बढाउन लागेका हौं ।’
विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग पुसको दोस्रो साता छलफल गरिएको खनालले जानकारी दिए ।
‘प्र्रदेश सरकार र सरोकारवाला निकायसँग गरेको छलफल अन्तिम चरणमा पुगकाले मन्त्रालयमार्फत् संसदमा जाने तयारीमा रहेको छ ।’ उनले भने, ‘संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ ।’
अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिने गरेको छ । यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा पाँच हजार जरिवाना लगाउन ट्राफिकले पाउने छ ।
सवारी कारबाहीबाट २२ करोड सात लाख राजश्व
प्रदेशमा १२ हजार सात सय ९२ सवारी साधन कारबाहीमा परेका छन् । कारबाही परेका सवारी साधनबाट २२ करोड सात लाख ५७ हजार एक सय राजश्व संकलन भएको छ । जसमा, बसबाट ११ लाख ९४ हजार, एक हजार, ट्रकबाट १६ लाख ६९ हजार पाँच सय, जीपबाट २३ लाख २९ हजार चार सय, ट्याक्टरबाट आठ लाख ८६ हजार, मोटरसाइकलबाट ३१ लाख ९० हजार र टेम्पोबाट १५ लाख ९१ हजार पाँच सय र अन्य सवारी साधनहरुबाट ४१ हजार पाँच सय राजश्व संकलन भएको हो ।