सागर परियार
जुम्ला । कर्णालीको सभ्यता र पहिचान बोकेको हुड्के नाच पछिल्लो समय हराउँदै जान थालेको छ । हुड्के नाच नाच्ने पुरानो पुस्ता कमजोर बन्दै र घट्दै जाने तर नयाँ पुस्ताले नाच्न मन नपराउने गरेका कारण यो नाच पछिल्लो समय कर्णालीका हरेक सामाजिक क्रियाकलापबाट निश्चित उत्सवमा मात्रै सीमित हुन पुगेको छ ।
हुड्के नाच पन्चेबाजा, ढाल नाचको संरक्षण नगरेसम्म कर्णालीको सांस्कृतिक पहिचान केही वर्षमै खोज्नु पर्ने स्थितिमा पुग्ने पन्चेबाजा एकता समाज जुम्लाका सचिव लालु दमाईले बताए । दमाई जातीमा आधारित एक मौलिक र गरी खाने पेशा हुड्के नाच हो ।’ उनले भने, ‘हरेक गाउँमा नाचिने हुड्के नाच नाच्न अहिलेको पुस्ताले सिक्न त के त्यस नाचका स्वर मिसाउनसमेत लाज मान्ने भएपछि केही वर्षमै यो नाच संकटमा पर्ने निश्चित छ ।’
आफ्ना बुवाबाट हुड्के नाच नाच्न सिकेका तिला गाउँपालिका ३ का हस्त दमाई गाउँमा हुने विवाह, ब्रतबन्ध, छोराको छैटी, देखि हरेक अवसरमा हुड्को नाच्ने एक्ला हुड्के हुन् । जिम्लाको पूर्व गुठिचौरदेखि पश्चिम कालीकोट र दक्षिण सिंजासम्मका विभिन्न गाउँहरुमा आफ्नो हुड्ेक नाच लिएर पुग्ने उनी कुनै दिन बिरामी परे उनको सट्टामा हुड्के नाच्ने दोस्रो व्यक्ति छैन ।
‘त्यस्तो बेला सकभर हुड्के नाच नै देखाइदैंन देखाइयो भने पनि निकै टाढाबाट २/३ दिनको तयारी गरेर ल्याउन पर्छ ।’ उनी भन्छन्, ‘म मरे भने त यो नाच मसँगै मर्ने भयो, चिन्ताले निकै मन रुन्छ ।’
आफ्ना स्वर्गीय बुवाबाट परिवार पाल्ने पेशाका रुपमा हुड्के नाच सिकेका हस्तले आफ्नै छोरादेखि गाउँका थुप्रैलाई नाच सिकाउन प्रयास गरे तर कसैले चाँसो नदिएकोमा ठूलो गुनासो छ ।’ तातोपानी–३ का ३८ वर्षीय रतन दमाई जुम्लाका अर्का चर्चित हुड्ने नाच्ने कलाकार हुन् । विभिन्न ठाउँमा आयोजना हुने विशेष कार्यक्रमदेखि, विवाह ब्रतबन्धमा नाच्न भ्याइ नभ्याई हुने उनी कुनै काम विशेषले जिल्ला बाहिर वा बिरामी परेको समय हुड्के नाच्ने दोस्रो व्यक्ति नहुँदा हुड्के नाच नै सूचीबाट हटेका धेरै अनुभव गरेका छन् । जति प्रयास गर्दा पनि आफूले अर्को पुस्तालाई हुड्के नाच हस्तान्तरण गर्न नसकेकोमा निकै धेरै चित्त दुःखाई उनलाई छ । उनले भने, ‘हाम्रा गाउँको प्रायः बनेको हुड्के नाच नयाँ पुस्ताका नाच्ने कलाकार नपाएपछि पछिल्लो समय संकटमै परिसक्यो ।’
मनमा जाँगर, सीप, कला हुँदा, पनि हुड्के नाचलाई साथ दिने मान्छे छैनन् । उनी भन्छन्, ‘हिजो आज कतैबाट निमन्त्रणा आउँदा पनि सहयोगीहरु जुटाउनै धौधौ हुन्छ । जान मान्दैनन्, गाउँसिक्न तथा सिकाउने मावल पनि छैनन् ।’
भागी विवाहले थप समस्या
पछिल्लो समय बढ्दै गएको भागी विवाहले कर्णालीको हुड्के नाच संकटमा पर्दै गएको छ । ‘परम्परागत रुपमा मागी विवाहमा यो नाचलाई अनिवार्य नै गरिन्थ्यो । यसले हरेक घरमा प्रायः महिना हुड्केलाई नाच्न भ्याइ नभ्याइ हुन्थ्यो ।’ चन्दननाथ गुठीका सचिवसमेत रहेका खस भाषाका जानकार रमानन्द आचार्यले भने, ‘गाउँका पुराना चलन हराउन थालेपछि हुड्के नाच पनि हराउने सूचीमा पर्न थाल्यो ।’ हिजो आज मागीभन्दा भागी विवाह गर्नेको संख्यामा वृद्धि भएपछि ‘हुड्के नाच’ महत्व हराउँदै गएको ठहर उनको छ ।
हुड्के नाचबाटै राम्रो कमाई
हुड्के नाच कर्णालीको एक मौलिक संस्कृति हो । जातीय तथा भेगीय पहिचान झल्काउने यो नाच राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । ‘हुड्के नाचका लागि निमन्त्रणा आए हामी दैनिक ज्याला निर्धारण गरेर जान्छौं ।’ हुड्के नाचमा स्वर मिलाउने सहयोग (ताल छोप्ने) सिंजा गोरामाका मोती दमाईले भने, ‘कसैको निम्तामा हामी गए प्रतिदिन खाना खाएर एक हजार रुपैयाँ ज्याला लिन्छौं भने अन्य थप गाएर आफै पनि कमाउने गरेका छौं ।’ केही वर्ष पहिला अन्नपात ल्याउने चलन अनुसार नाच्ने हुड्के नाच पछिल्लो समय ज्यालामा जाने गरेकाले पनि मनग्य आम्दानी हुने गरेको हुड्के तातोपानी–३ का रतनले बताए ।
उनका अनुसार विवाह ब्रतवन्ध वा अन्य कुनै विशेष अवसरमा एक पटक नाच्न जाँदा कम्तीमा १०÷१५ हजार कमाई हुन्छ । तर आफ्नो जाती पेशाप्रति अहिलेको पुस्ताले रुची नराखेपछि कमाईभन्दा पनि बचाउनै गाह्रो भएको उनको भनाई छ । लाखौंका हिसाबले कमाई हुने भएता पनि दमाई समुदायले रुची नदेखाएकै कारण पछिल्लो समय हुड्ेक नाच लोपोन्मुख अवस्थामा
पुगेको छ ।
हुड्के नाचबाटै चेतना
पछिल्लो समय कर्णालीको जुम्लालगायतका हिमाली जिल्लामा हुने विवाह ब्रतवन्ध र अधिकांश स्थानमा हुने सार्वजनिक कार्यक्रममा हुड्के नाचलाई अनिवार्य जस्तो गर्ने गरिएको छ । कर्णाली प्रदेशको आञ्चलिक नाचका रुपमा रहेको हुड्के नाचलाई विस्तारै सामाजिक सचेतना फैलाउने माध्यमका रुपमा समेत प्रयोग गर्न थालिएको छ ।
निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्नेदेखि सामाजिक विकृतिका रुपमा रहेको छाउपडी, यौन÷श्रम शोषण, महिला हिंसालगायतका विभिन्न विषयमा सचेतना फैलाउने हुड्के नाचलाई बलियो माध्यमका रुपमा लिने गरिएको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले बताए ।
उनले भने, गाउँका स्थानीयले हुड्के नाच मार्फत् छिट्टै बुझ्ने भएकाले पनि हामीले सामाजिक कार्यक्रममा यो नाचको प्रयोगलाई अनिवार्य जस्तै गरेका छौं ।