सिमकोट । हुम्लाको स्थानीय अर्गानिक आलु लोप हुनै लागेको समयमा चालु आर्थिक बर्षमा चालीस हेक्टर जमिनमा उक्त आलु खेती गरिने भएको छ।
स्थानीय रैथाने आलुको संरक्षण गरि उत्पादनमा वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनाले सो कार्य जिल्लामा गर्ने भएको हो।
मिठो र स्वादिलो हुम्लाको स्थानीय रैथाने आलुको संरक्षणका साथै उत्पादनमा बृद्धि गर्न प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजनाले जिल्ला चार वटा नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकामा सो आलु खेती कार्यक्रम सञ्चालन गर्ने कृषि बिकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए।
हुम्ला जिल्लाका यी सबै गाउँपालिकामा आलु खेती राम्रो हुने भएको कारण प्रति गाउँपालिका दश दश हेक्टरका हिसाबले आलु खेती गरिने उनले बताए।
आगामी फागुन महिनाबाट हुम्ला जिल्लामा आलु खेती सुरु गरिने भएको कारण अब किसानस्तरबाट माग संकलनका लागि प्रस्ताबना माग गर्ने कार्यको तयारी भै रहेको छ। छनौट भएका प्रस्ताबहरुले आलुको बीउ, औजार र आवश्यक अन्य सामाग्री अनुदान दिइने भएको छ।
यसका लागि किसानहरुले ब्यक्तिगत, समूह वा सहकारी मार्फत खेती गर्न सक्नेछन्।कार्यालयले यो कार्यक्रम सञ्चालन गर्न चालीस लाख बजेट बिनीयोजित गरेको छ।
हुम्लाका अर्गानिक रैथाने आलु लोप हुने अबस्थामा पुगेको बेला कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यसको संरक्षण र उत्पादन बृद्धि गर्ने जुन प्रयास गरेको छ, त्यो स्वागत योग्य काम भएको किसान लोकेन्द्र बोहराले बताए।