सुर्खेत । निर्माण भएको तीन वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाम खलंगा बजारको नयाँ बसपार्क सञ्चालनमा आउन सकेको छैन । सवारी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला कारागार जुम्ला नजिकै लाखौंको लगानीमा निर्माण गरिएको नयाँ बसपार्क २०७३ सालमा निर्माण सम्पन्न भएको थियो ।
जिल्लाको यातायात क्षेत्रमा बढ्दैं गएको मनपरीले सञ्चालन गर्ने विषयमा सरोकारवाला निकायसँग गरिएको छलफल सफल नभएपछि निर्माण सम्पन्न भएर पनि बसपार्क सञ्चालनमा आउन नसकेको हो ।
चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी साधन छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा जिल्लाको यातायात क्षेत्र व्यवस्थित हुन नसकेको चन्दननाथ नगरपलिका स्रोतले जानकारी दिएको छ ।
‘नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुना कुनामा काउन्टर खोल्ने, दुर्घटनाको जोखिम बढेको छ ।’ नगरपालिकाका एक कर्मचारीले भने, ‘नगरपालिकाको प्रशासन, ट्राफिक प्रहरी कार्यालयभन्दा बलिया र ठूला यातायात व्यवसायी भएकाले जुम्ला जिल्लाको यातायात क्षेत्र निकै अस्तव्यस्त र मनपरी ढंगले चलेको हो । ’
टेण्डर भयो, सञ्चालन भएन
निर्माण सम्पन्न भएको लामो समयसम्म नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले गएको मंसिर दोस्रो साता टेण्डर आह्वान गर्यो । जसमा जुम्ला र मुगु जिल्लाको रुटमा आफ्नो कार्यक्षेत्र बनाएका आधा दर्जन यातायात कम्पनीले दिएका निवेदनमध्ये मुगुको रारा छाँयानाथ यातायात प्रालिले उक्त टेण्डर हात पा¥यो । रारा छाँयानाथ यातायातले टेण्डर पाएको दुई महिना बढीको समय पुग्दासमेत बसपार्क सञ्चालनसम्बन्धी कुनै काम शुरु भएका छैनन् । बसपार्क सञ्चालनका लागि आवश्यक पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण जस्ता पूर्वाधार तयार नभएसम्म आफूले बसपार्कलाई सञ्चालनमा ल्याउन नसक्ने जानाकारी यातायात कम्पनीले उल्टै नगरपालिकालाई गराएको थियो ।
बसपार्क सञ्चालनसम्बन्धी माग भएर आएका पूर्वाधारमा निर्माण गरेपछि मात्रै छनोट भएको यातायात कम्पनीसँग औपचारिक सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए । तर अधिकृत देवकोटाको भनाईप्रति असहमत देखिएका कर्णाली यातायात प्रालिका अध्यक्ष मिनबहादुर थापाले बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात, चन्दननाथ नगरपालिकाले विभिन्न बहाना बनाएर बसपार्क सञ्चालनमा ढिला गरेको आरोप लगाए । खलंगा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले भने, ‘बसपार्क सञ्चालन गर्नुहोस्, एउटा सानो पत्र खानेपानी उपभोक्ता समितिलाई दिने बित्तिकै पाँच मिनेटमा पानी पु¥याइदिन्छु ।’
मनपरी भाडा असुली
जिल्लामा एक सय बढी अटोरिक्सा बाहेक झण्डै ७० वटा साना तथा ठूला सवारी साधनले दैनिक छोटो तथा लामो दूरीका यात्रु ओसारिरहेका छन् । तर कुन गन्तव्यको भाडा कति हो भन्ने एकिन नहुँदा यात्रुहरुबाट मनपरी भाडा असुल्ने काम भइरहेको छ ।
‘बसपार्क सञ्चालन नभएकै कारण यातायात व्यवसायीले यात्रुको ढाड सेक्ने गरी भाडा असुली गरिरहेका छन् ।’ कर्णाली यातायात प्रालिका अध्यक्ष थापा भन्छन्, ‘सरकारी नियमअनुसार जुम्लादेखि नेपालगन्ज एक हजार दुई सय हो तर अहिले १ हजार ८ सय लिने गरेका छन् ।’ थापाका अनुसार जुम्ला–सुर्खेतको ८ सय दर कायम गर्ने कुरा गरेको भए पनि मनपरी एक हजार पाँच सय लिने गरिएको छ । जसले दैनिक सयौं यात्रु ठगिएका छन् ।
बजारका कुनाकुनामा यातायातका काउण्टर भएकाले स्थानीय प्रशासनलाई नियमन गर्न गाह्रो भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । औपचारिक रुपमा बसपार्क सञ्चालन भएपछि भाडा आफै नियन्त्रण हुने उल्लेख गरेकी बञ्जाडेले सबै मिलेर बसपार्कलाई छिटो सञ्चालन गर्नुपर्ने सुझाव दिइन् ।