सिमकोट । सिमकोट गाउँपालिका–८ खोल्सी गाउँमा यतिबेला रुघोखोकीका बिरामी बढेका छन् । खोल्सी गाउँमा गएको असारमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा औषधि र स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको छ ।
दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको खोल्सी सामुदायिक स्वास्थ्य इकाई केन्द्र कर्मचारीविहिन बनेको छ । यहाँका स्थानीयले सामान्य रुघाखोकीदेखि सामान्य बिरामी हुँदा गाउँमै स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट सिटामोल समेत नपाउँदा रित्तै फर्कनु परेको स्थानीयले गुनासो गर्न थालेका छन् ।
सदरमुकाम सिमकोटदेखि दश कोष टाढा रहेको गाउँमा मेडिकलसमेत नहुँदा उपचारका लागि सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा धाउँदासमेत सामान्य सिटामोल नपाएको स्थानीय दन्त सिंहले बताए । ‘सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा औषधि र कर्मचारी नहुँदा बिरामीहरुले रित्तो हात लिएर फर्कनु पर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘गाउँमै स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा सिटामोलसमेत नपाउँदा गाउँबाट चार घण्टाको पैदल हिंडेर सदरमुकाम सिमकोट पुगेर औषधि लिनुपर्ने बाध्यता रहेको छ ।’
गाउँमा रुघाखोकी फैलिएको छ । घर नजिकै सामुदायिक स्वास्थ्य इकाई केन्द्रको ठूलो भवन रहेको छ तर, औषधि र स्वास्थयकर्मी नहुँदा बिरामीले गाली गरेर फिर्ता हुने गरेको सिंहले बताए । ‘गाउँबाट सदरमुकाम सिमकोटमा औषधिको लागि आउँदा जाँदा गरेर ८ घण्टा लाग्ने गरेको छ ।’ उनले भने, ‘अहिले गाउँमा सामान्य सिटामोल पनि नहुँदा सिटामोलका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको छ ।’
करिब एक सय घर धुरी रहेको खोल्सी गाउँमा रुघाखोकीले गाउँ नै थलामा परेता पनि औषधि दिने मान्छे र औषधि नपाएको स्थानीयको गुनासो गरेको छ । गाउँमा रुघाखोकीले बालबालिका वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
सरकारले औषधि खरिद गर्नका लागि स्थानीय तहमै रकम पठाए पनि समयमै औषधि खरिद नहुँदा दुर्गम जिल्लाका नागरीक बिरामी हुँदा सास्ति भएको हो ।
औषधि खरिद गरेका स्थानीय तहरुमा पनि औषधि एक दुई महिनाका लागि पुग्ने अवस्था रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । अहिले जिल्लाभरीका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव रहेको छ ।
जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निःशुुल्क वितरण गर्ने औषधिको अभाव भएको छ । स्थानीय सरकारका रूपमा रहेका गाउँपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन गरेको बजेटबाट औषधि खरिद नगर्दा स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको हो ।
रुघाखोकी तथा ज्वरो आएपछि एक दिन पैदल हिंडेर स्वास्थ्य चौकीमा चेकजाँचका लागि पुग्ने गरेको यहाँका स्थानीयले बताएका छन् । ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा सरकारले ३५ प्रकार निःशुल्क औषधि दिने भएता पनि जिल्लामा भने औषधिको अभाव रहेको छ । हुुम्लामा २६ वटा स्वास्थ्य चौकी, आठवटा सामुुदायिक स्वास्थ्य क्लिनिक र एउटा जिल्ला अस्पताल रहेको छ । यस्तै, वडा आठमा रहेको स्याडा चौकीमा करिब चार सयभन्दा बढी बिरामी भएता पनि स्वास्थ्यकर्मीविहिन बनेका छन् । त्यहाँका स्थानीय नुर्वु बुढाका अनुसार चार दिन जति स्याडा स्वास्थ्यचौकी बन्द रहेको बताए । ‘बिरामीहरु उपचारका लागि स्वास्थ्यचौकीमा पुगेता पनि स्वास्थ्यकर्मी आफ्नो निजी काममा व्यस्त हुँदा बिरामीलाईसमेत सास्ति भएको उनले बताए ।
स्याडा स्वास्थ्यचौकी एक घण्टा खोलेर शुक्रबार भन्दै त्यहाँका स्वास्थ्य इन्चार्जले बन्द गरेर सदरमुकाम सिमकोटतिर आएको बताईएको छ । गाउँमा बिरामीको चाप बढेको छ तर यहाँका स्वास्थ्यकर्मी पन्छिदंै गएका छन् । रुघाखोकीले मात्रै जिल्लाका विभिन्न गाउँमा सात जनाको मृत्यु भएको छ ।
२० घण्टापछि सुत्केरीको उद्दार
हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाट सुत्केरी बेथा लागेका एक जना नेपाली सेनाको हेलिकोप्टरमार्फत् २० घण्टापछि उद्दार गरिएको छ । नाम्खा गाउँपालिका– ६ लिमी गाउँकी वर्ष ३५ की याङ्जीन तामाङका उद्दार गरिएको हो ।
गाउँमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत् उद्दार गरिएको श्रीमान आंङ्दिन तामाङले बताए । ‘लामो समय बेथा लागेर सुत्केरी हुन नसकेपछि सदरमुकाममा ल्याइएको छ ।’ उनले भने, ‘गाउँमा स्वास्थ्य चौकीमा नहुँदा समस्या हुने गरेको छ ।’
सुत्केरी व्यथाले लागेकी ती महिलाको जिल्लामा खबर आउने बित्तिकै संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा हेलिकोप्टर उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।