दैलेख । दैलेखका विभिन्न खोलाहरूमा अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्ने कार्य बढ्दै जान थालेपछि यसबाट निम्तिने क्षति न्यूनीकरण अभियान शुरु गरिएको छ ।
वर्षातका समयमा खोलाले आफ्नो स्थान परिवर्तन गर्दै उब्जनीयोग्य भू–भागहरू कटान गर्ने र धनजनको क्षतिबाट बचाउने अभियान अन्र्तगत दैलेखका विभिन्न स्थानहरूमा तटबन्ध निर्माण कार्य शुरु गरिएको हो ।
डोजर नै खोलामा लगेर खोलाका ढुङ्गा र गिट्टी बालुवा निकाल्ने क्रम सँगै वर्षातका समयमा खोलाले वहाव परिवर्तन गर्ने र लाखौँ क्षति हुने क्रम रोक्न कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत खोला नजिक बलियो गठबन्धन निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो ।
दैलेखको डुगेश्वर गाउँपालिका वडा नं. १ लाहोरे खोला नजिक २० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उपभोक्ता समिति मार्फत निर्माण गरिएको तटबन्ध डिभिजन वन कार्यालय दैलेख मार्फत सञ्चालन गरिएको छ ।
अनियन्त्रित रूपमा गरिने ढुंगागिटी बालुवा उत्खननका कारण लोहोरे खोला नजिक ढुङ्गा समेत देख्न पाइँदैन । भएका ढुङ्गाहरू पनि फुटाएर गिट्टी निर्माण गरेर विक्री वितरण हुँदै आएको स्थानीय बताउँछन् ।
तटबन्ध निर्माणको काम प्रभावकारी भए नभएको अनुगमन गर्न प्रदेश सभा सदस्य मिनासिंह रखाल र जिल्ला समन्वय समिति प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ । अनुगमनपछि प्रदेश सभा सदस्य रखालले खोला दोहन रोकिनुका साथै किसानको खेतबारी सुरक्षा हुनेगरी काम थालनी गरिएको बताएकी छन् । आवश्यक भएका स्थानमा काम गर्दा उपभोत्ताहरुले पनि प्रभावकारी काम गर्ने रखालको भनाई छ ।
लोहोरे खोला छेउमा २० लाख रुपैयाँको लागतमा १ सय ६८ वटा जाली निर्माण गर्ने कार्यपुरा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले प्रदेश सरकारले आवश्यक स्थानमा प्रभावकारी योजना निर्माण गरेको भन्दै दिगोपनाका लागि बायो ईन्जिनियरिगं गर्दै संरक्षण गर्नुपर्ने बताएका छन् ।
भिरालो र पहिरोको उच्च जोखिम मानिएको नारायण नगरपालिका वडा नं. ९ साँडुमा पनि तटबन्ध निर्माणसँगै १५ सय स्थानमा पैयोको वृक्षारोपण कार्य समेत प्रदेश सरकारमार्फत
गरिएको छ ।