अहमदाबाद (भारत) । ट्रम्प गुजरात पुग्नसाथ बजाइयो शंख र ढोल, अहमदाबादमा लाखौंकाबीच 'नमस्ते ट्रम्प' मा सहभागी हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका क्रममा गुजरातको अहमदाबाद पुगेका छन्। प्रथम महिला मेलानिया ट्रम्पका साथ ट्रम्प केही बेर अघिमात्रै एयर फोर्स वानबाट अहमदाबाद ओर्लिएका हुन्।
ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए। विमानस्थलमा ट्रम्पको स्वागतमा शंख र ढोल बजाइएको थियो। करिब एक हजार कलाकारहरुले पारम्परिक नृत्य प्रस्तुत गरेका थिए।
हाल अहमदावादको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। ठाउँठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ भने अमेरिकी सुरक्षा एजेन्सीका व्यक्तिहरुको उपस्थिति बढेको छ। अहमदावादमा ट्रम्पको सवारी हुने सडकहरु सजाइएको छ। विभिन्न स्थानमा ट्रम्प र मोदीका फोटोहरु टाँगिएका छन्।
विमानस्थलबाट निस्किएपछि अहमदावाद शहरमा मोदीको नागरिक अभिनन्दन गरिनेछ। विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म ट्रम्पको रोड शो हुनेछ। त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्। विमानस्थलबाट ट्रम्प पहिले साबरमती आश्रम जानेछन्। त्यहाँ केहीबेर बिताएपछि ट्रम्प मोटेरा स्टेडियमका लागि रोड शोमा सरिक हुनेछन्। करिब २२ किलोमिटरको रोड शोमा सडक वरिपरि भारतीय संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ।
ट्रम्पको स्वागतमा मोटेरा स्टेडियममा ुनमस्ते ट्रम्पु कार्यक्रम आयोजना गरिनेछ। यो कार्यक्रमलाई भारतकै हालसम्मको भव्य कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा विभिन्न राज्यका संगीतकारहरुले गीत प्रस्तुत गर्नेछन्। कैलाश खेरले सूफी गीत प्रस्तुत गर्ने बताइएको छ। त्यसपछि दुवै देशका नेताले भारत अमेरिकाको सम्बन्धका बारेमा चर्चा गर्नेछन्। भाषणपछि ट्रम्पलाई गाडीमा नै स्टेडियम परिक्रमा गराइनेछ। स्टेडियम विश्वको सबैभन्दा ठूलो स्टेडियम हुने बताइएको छ।
आज दिउँसै ट्रम्प र मेलानिया आगरा जानेछन्। त्यही उनीहरुले ताजमहलको भ्रमण गर्नेछन्। ताजमहलमा सूर्यास्त हेरेपछि साँझ उनीहरु दिल्ली प्रस्थान गर्नेछन्। मंगलवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ। मेलानियाले दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ।