सुर्खेत । २०५४ सालमा सर्वे भएको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मझुवा खानेपानी आयोजना २२ वर्ष बित्दासमेत अलपत्र अवस्थामा छ ।
नगरका सबै घरमा व्यवस्थित खानेपानीका धारा पु¥याउने लक्ष्यका साथ २०६६ सालदेखि आयोजना निर्माणको काम शुरु भए पनि सर्वे अनुसारका कुनै पनि काम पूरा नभएपछि आयोजना अलपत्र अवस्थामा छ । भैरवी गाउँपालिका र ठाँटिकाँध गाउँपालिकाको सिमानामा पर्ने रामगाड खोलाको पानी ल्याउने २०४२ सालमा स्थानीयबाट माग भएको योजना तत्कालिन केन्द्रीय सरकारले २०५२ सालमा आयोजनाको विस्तृत सर्वे गरेको थियो ।
करिब ९ करोड ३३ लाखको लागतमा निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सर्वे लगत्तै देशमा शुरु भएको तत्कालीन माओवादी जनयुद्धको प्रभावका कारण तत्काल काम स्थगित भएको मझुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदबहादुर शाहीले बताए । ‘२०५२ सालमा विस्तृत सर्वेक्षण भएको आयोजनाको काम २०६६ सालमा आएर मात्रै अघि बढ्यो’, उनले भने, ‘काम शुरु भएपछि पनि रफ्तारमा अघि बढ्नु भन्दा निकै बिलम्ब भएकाले अहिलेसम्म लथालिंग अवस्थामा रहेको हो ।’
तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक ३० लाखको हाराहारीमा बजेट विनियोजन गरेपछि निर्माणको काम शुरु गर्न ९ सदस्यीय उपभोक्ता समिति गठन भएको तत्कालीन समिति अध्यक्ष तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । ‘पाँच वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरेपनि बजेटका हिसाबले सरकारबाट निकै कम बजेट आयो’, शाहीले भने, ‘बजेट अभावले आयोजनाको कामले मुर्त रुप नपाउने भएपछि मैले उपभोक्ता समितिको जिम्मा लिएको २०७३ सालमा राजीनामा दिएको हुँ ।’ केन्द्रबाट निकै थोरै बजेट आएका कारण कामको रफ्तार दिन नसकिएको उल्लेख गरेको शाहीले आयोजना र सरकारकाको प्रशासनिक ढिलाइका कारण आयोजनाको काम लथालिंग भएको आरोप लगाए । तर अध्यक्ष शाहीको नेतृत्वमा रहेको उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको २०६६ सालदेखि २०७३ सम्मको जिम्मेवारी राम्रोसँग पूरा नगरेकाले आयोजना समयमै सम्पन्न हुन नसकेको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का स्थानीय रंग शाहीले बताए ।
आयोजनाको काम शुरु हुँदा घरघरमा खानेपानीका धारा आउने भए भन्दै निकै उत्साहले स्थानीय आयोजनाको काममा लागेका थिए’, शाहीले भने, ‘तर २०६६ सालदेखि नैं आयोजनामा कति रकम आयो, त्यसले कती काम पूरा भयो भन्ने प्रष्ट हिसाब किताब नहुँदा अयोजना थप लथालिंग बन्दै गएको हो ।’
समितिले राजिनामा दिंदा थप अन्यौल
आयोजना शुरु भएदेखि आठ वर्षपछि अर्थात २०७३ सलामा नगरपालिकाका केही सीमित क्षेत्रका केही घरमा एक लाइन पाइप मार्फत पानी परिक्षणका रुपमा पानी पु¥याउने काम गरेको पुरनो उपभोक्ता समितिले बीचमै आफ्नो जिम्मेवारीबाट अचानक राजिनामा दिएपछि आयोजनाको काम थप अव्यवस्थित भएको दाबी चामुण्डा वीन्द्रसैनी–६ कै स्थानीय भरम भण्डारीको छ । नगरवासीको ठूलो महत्वकांक्षी योजनाका रुपमा रहेको मझुवा खानेपानी आयोजना सम्पन्न नहुनुमा पहिलो उपभोक्ता समितिले जिम्मेवारी बहन नगर्नु पनि ठूलो समस्या निम्तीएको बताएका भण्डारीले भने, ‘आयोजनालाई अलपत्र पारेर बीचमै पुरानो समितिले आफ्नो जिम्मेवारीबाट राजनीतमा दिएपछि ८ वर्षसम्मको राज्यको करोडौंको लगानी बालुवामा पानी भएको हो ।’ तत्कालिन समिति अध्यक्ष शाही २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आयोजना निर्माणको काम थप अलपत्र परेको स्थानीयको आरोप छ । तर स्थानीयको आरोप मान्न पुरनो उपभोक्ता समिति तयार छैन् । सरकारले कम बजेट गरेकाले आर्थिक अभावका कारण आयोजनाको काम ढिला हुँदै गएको तत्कालीन समिति अध्यक्ष समेत रहेका चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए । पुरानो उपभोक्ता समितिले जिम्मेवारीबाट राजिनामा दिएको र नयाँ समिति गठन भएपछि आयोजनाका पाइपहरु केही खोलाले बगाएको, केही चोरेर जगेको, संरचना भत्केर कामै नलाग्ने भएकाले पनि आयोजनाको काम पुनः सूचारु गर्न प्राविधिक र लागतका हिसाबले चुनौतीपूर्ण भएको हालका खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर शाहीले बताए ।
पुरानो समितिले गरेको कामलाई तत्कालै निरन्तरता नदिँदा निर्माण गरेका सबै संरचनाहरु जिर्ण अवस्थामा छन् । आयोजनालाई लामो समयसम्म अलपत्र छोडिएकाले पनि अहिले लामो समय र ठूलो रकम आयोजनाको मर्मतमै लगाउनु परेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए । ‘पुरानो समितिले निर्माण गरेका सबै संरचना काम नलाग्ने अवस्थामा छन् ।’ उनले भने, ‘त्यसलाई मर्मत गर्ने पहिलो चुनौती अहिलेको समितिलाई छ । मुहानमा बनाएका सबै संरचनाहरु भत्किएको अवस्थामा छन् । केही खोलाले बगाएको छ । बाँकी सामग्री चोरी भएकाले सबै संरचना पुनः निर्माण गर्नुपर्ने अवस्था छ ।’
२०७५ साल फागुनमा आफू निर्वाचित भएको उल्लेख गरेका शाहीले आर्थिक वर्ष २०७५ मै नगरपालिकाको ४ लाख र संघीय सरकारबाट आएको ५ लाख रकमले आयोजनाको केही ठाउँमा मर्मत गर्ने काम गरेको बताए । हाल आयोजनाबाट वडा नम्बर ५, ६ र ८ नम्बरको सिमानामा पर्ने भोटेको चौतारासम्म पानी जाने गरेको जिकिर गरेका उपभोक्ता समिति अध्यक्ष शाहीले चौतारादेखि बस्तीसम्मका पाइपहरु कुनै पनि नभएकाले काम गर्न समस्या परेको बताए ।
प्रदेश सरकारद्वारा ८० लाख विनियोजन
संघीय सरकारले निर्माण शुरु गरे पनि अलपत्र अवस्थामा रहेको मझुवा खानेपानी आयोजनालाई निर्माण गर्न कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रकम विनियोजन गरेको छ । ३० लाख चामुण्डा वीन्द्रासैनी नगरपालिका र ५ लाख रकम संघीय सरकारले विनियोजन गरेको उक्त आयोजनामार्फत् आगामी असार मसान्तसम्ममा नगरक्षेत्रका सबै वस्तीमा खानेपानी पु¥याउने लक्ष्य मझुवा खानेपानी उपभोक्ता समितिले लिएको छ ।
प्रदेश सरकारको बजेटले मुहानदेखि वडा नम्बर ४ भम्पासम्मको पाइपलाइन मर्मत सुधारको काम गर्ने, आवश्यकता परेको ठाउँमा ट्याङ्की निर्माण गर्ने, नगरको बजेटबाट वडा नम्वर ७ भोटेको चौतारादेखि वडा नम्वर ९ डौसुरसम्मको पाइपलाइन निर्माणको काम गर्ने समितिका अध्यक्ष शाहीले जानकारी दिए ।