सुर्खेत । स्थानीय तहले सञ्चालन गर्ने गरी चामुण्डा बिन्द्रासैनी नगरपालिकाकाले खरिद गरेको नगर बस सञ्चालनमा आएको छ । यातायात व्यवस्था कार्यालयबाट लामो समयसम्म रुट इजाजत नपाउँदा थन्किएको नगर बस रुट प्रमिड पाए लगत्तै सञ्चालनमा आएको हो ।
सोमबार एक कार्यक्रमका बीच नगर बसको वयोवृद्ध तथा समाजसेवी कुम्मेरबहादुर शाही र व्यापारी तथा समाजसेवी धनराज भण्डारीले संयुक्त रुपमा शुरुवात गरेका हुन् ।
यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रुटप्रमिड पाए लगत्तै नगर बस सञ्चालनमा ल्याइएको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।
नगरपालिका भित्रका सबैजसो क्षेत्रहरुमा सञ्चालन हुने उक्त बसमा सर्वसाधारण नागरिकले यात्रा गरे वापत प्रतिकिलोमिटर ५ रुपैयाँ लाग्नेछ । साथै अपाङ्ग, वृद्ध, जेष्ठ नागरिक, विद्यार्थीलाई विशेष छुटको व्यवस्थासमेत रहेको प्रमुख शाहीले बताए । उनले भने, ‘बस आवश्यकता अनुसार नगरपालिकाभन्दा अन्य क्षेत्रहरुमा समेत सञ्चालन हुनेछ ।’ नगर भित्रका जनताको सेवा सुविधाका लागि आफूहरुले नेपाल सरकारको नियमभित्र रहेर बस सञ्चालन गर्ने उनले बताए ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नगर सभाबाट पारित वार्षिक कार्यक्रम अनुसार करिब ३२ लाख रुपैयाँमा सो बस खरिद गरेको थियो । बस २०७६ को असोजमा नै खरिद गरिए पनि रुटप्रमिट नपाएर थन्किएको थियो ।
नगर बस सञ्चालन भएसँगै स्थानीयबासी खुशी भएका छन् । निजी सवारीमा चर्को भाडा तिरिरहेको अवस्थामा नगर बस सञ्चालन आउँदा आफूहरुलाई राहत मिलेको नगरपालिका वडा नम्बर ८ का रंगबहादुर शाहीले जानकारी दिए । उनले यसअघि नगरभित्र आवत जावत गर्दा निजी सवारी साधनमा चर्को मूल्य तिर्दै आएका थियौँ । उनले भने, ‘अटो रिक्सा, अन्य सवारीहरुले मनपरी भाडा लिने गरेका थिए । नगरमा बस सञ्चालनमा आएपछि सजिलै यात्रा गर्न पाइने विश्वास लिएका छौँ ।’