सुर्खेत । कर्णालीका सीमा नाकामा कोरोना भाइसर जाँचका लागि हेल्प डेस्क राखिने भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रीस्तरीय निर्णय अनुसार कर्णालीका सीमा नाकामा औषधीसहित चिकित्सकको टोली राख्ने निर्णय भएको हो ।
कर्णाली प्रदेश सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई र सुर्खेत विमानस्थलमा हेल्पडेस्क राख्न लागिएको छ ।
मन्त्रीस्तरीय निर्णयका आधारमा कर्णालीका सीमा नाकामा स्वास्थ्य हेल्प डेस्क राख्न लागिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन् । ‘कर्णालीका सीमा नाकामा स्वास्थ्य जाँच चौकी तत्काल राखिने छ ।’ उनले भनिन्, ‘तीन दिनभित्र औषधि उपकरणसहित स्वास्थ्य जाँच केन्द्र राखिनेछ ।’
डोल्पामा फैलिएको कडा खालको सिजनल फ्लु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको कडा खालको सिजनल फ्लु भएको कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ । डोल्पामा फैलिएको अज्ञात रोग सिजनल फ्लु भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् । ‘यो कडा खालको सिजनल फ्लु होे ।’ उनले भनिन्, ‘कुनै अरु रोग नभएको हामीले जानकारी लिएका छौं ।’ डोल्पामा रोग फैलिएको क्षेत्रमा औषधिसहित चिकित्सकको टोली बुधबार बिहान त्यसतर्फ जान निर्देशक जोशीले जानकारी दिइन् ।
स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन
कर्णालीको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै स्वास्थ्यकर्मीको बिदा रद्द गरेर काममा फर्किन निर्देशन दिएको छ । मन्त्रालयले बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा फर्कन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्व सावधानीका क्रममा काजमा रहेका तथा बिदामा बसेका सबै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कार्यालय फर्कन निर्देशन दिइएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव विष्णुप्रसाद अधिकारीले बताए । ‘मातहतका कर्मचारीहरूलाई निरन्तर अवस्थाको अपडेटसहित स्वास्थ्य निर्देशनालयमा रिपोर्टिङ गर्न निर्देशन दिएका छौं । यसका अलावा मन्त्रालयले भिडभाड बढी हुने कार्यक्रम सकभर कम गर्न वा निरुत्साहन गर्ने गरी काम अघि बढाउन निर्देशन दिइएको छ ।’ उनले भने, ‘प्रदेश अस्पताल सुर्खेतमा आइसोलेसन बेडको आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ ।’
डोल्पामा फैलिएको अज्ञात रोगको पुष्टि हुन सकेन
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको अझै पुष्टि हुन सकेको छैन । करेलीकाँडाको फैलिएको अज्ञात रोगको ल्याव टेष्ट नहुँदा पत्ता लाग्न नसकेको हो । रोगको लक्षण हेर्दा सिजनल फ्लु जस्तो देखिए पनि ल्याब परीक्षणबाट पुष्टि हुन नसकेको उपचारमा संलग्न स्वास्थकर्मी शेरबहादुर कठायतले बताए । ‘भाइरल फैलिएको दुई साता पुग्न लाग्दासमेत ल्याब परीक्षण गरिएको छैन । छोटो समयमै गाउँभरी रोग फैलिएको छ ।’ उनले भने, ‘ल्याव टेष्ट नहुँदा कुन रोग लागेको हो त्यो पत्ता लाग्न सकेको छैन ।’
४५ घरधुरी भएको केरेलीकाँडामा घरैपिच्छे बिरामी भएको कडायतले बताए ।
हुम्ला र डोल्पामा अज्ञात रोग फैलिएको र त्यसको उपचारका लागि कर्णाली प्रदेश सरकारले आजै चिकित्सक र औषधीसहित टोली त्यसतर्फ पठाउन लागेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।