हस्त बुढा
जुम्ला । चन्दननाथ नगरपालिका –२ खोलीकोट गाउँकी रीता बुढ्थापा आईतबार ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको दिन रूदै जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीको कार्यकक्षमा पुगिन् । उनले भनिन् भाइको हत्या भएको दुई वर्ष बढी भयो ।
हत्या आरोपित विरूद्ध किटानी दर्ता गर्दा समेत दुई–दुई वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको उनले प्रहरी नायव उपरीक्षक धामी समक्ष गुनासो गरिन् ।
छोरी रीता बुढ्थापा प्रहरी कहाँ पुगेको थाहाँ पाएपछि जिन्दगीको उत्तरार्धमा पुगेका ७६ वर्षीय मृतकका बुवा तत्कालिन बामपन्थी नेता रामकृष्ण बुढ्थापा पनि जिल्ला प्रहरी कार्यालयमा पुगे । उनले पनि छोराको हत्यारा माथि अनुसन्धान गरी पीडितलाई न्याय दिन आग्रह गरे ।
चन्दननाथ नगरपालिका – २ खोलीकोट निवासी तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढ्थापा ०७४ साउन २० गते मृत अवस्थामा फेला परेका थिए । साउन २० गते बिहान चन्दननाथ नगरपालिका – ५ जुगाडखोला नजिकै उनको शव भेटिएको थियो ।
मृतकको टाउकोमा धारिलो हतियारले चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । मृतक बुढ्थापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग गरेका थिए ।
तत्कालिन नयाँ शक्ति पार्टी जुम्लाले घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको माग गरेको थियो । पार्टीको जिल्ला संयोजक नरेन्द्रनाथ योगीद्वारा ०७४ साउन २१ गते जारी विज्ञप्तिमा उक्त माग गरेका थिए । मृत अवस्थामा फेला परेका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पोष्टर्माटम गरिएको थियो ।
घटनामा संलग्न भएको आशंकामा आरोपित चन्दननाथ नगरपालिका – ६ का सनलाइट होटलका मालिक २९ वर्षीय खड्गजित रोकाया र सोही वडाका ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुवै जना अहिले पुर्पक्षका लागि कारागारमा छन् । अहिलेसम्म मुद्दा जिल्ला अदालत जुम्लाले फैसला
गरेको छैन ।
घटनाको आरोपित ८ जना मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी अदालतमा मुद्दा पेश गरे पनि दोस्रो पटक ०७४ भदौ १२ गते मृतकका बुबा रामकृष्ण बुढ्थापाले जिल्ला सहकारी वकिल जुम्लामा पुरक जाहेरीका रूपमा आरोपित विरूद्ध किटानी सहित उजुरी दर्ता गरेका थिए ।
तत्कालिन जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत तत्कालिन सुनिकोट गाविस– ७ बझाङका ३५ वर्षीय भीमबहादुर बोहोरा, श्रीनगर हुम्ला स्थायी घर भएका चन्दननाथ नगरपालिका – ९ बयालकाटिया बस्ने २२ वर्षाीय खगेन्द्र बुमी, भञ्जाङ खर्क – ६ काभ्रेपलान्चोक स्थायी घर भएका चन्दननाथ नगरपालिका – ५ स्थित सनलाईट होटलका कुक(भान्से) २९ वर्षीय वीरबहादुर तामाङ, गुठीचौर गाउँपालिका – २ जुम्लाका २८ वर्षीय राम बोहोरा, सोही वडाका १७ वर्षीय विनोद गिरी, तातोपानी गाउँपालिका – १ का १६ वर्षीय रविन्द्र बडुवालको नाममा किटानी जाहेरी दर्ता गरिएको पीडित पक्ष रामकृष्ण बुढ्थापाले बताए ।
उनले भने हत्या आरोपमा किटानी जाहेरी दर्ता गर्दासमेत प्रहरीले घटनामाथि अनुसन्धान गरेको छैन ।
उक्त घटनाका विषयमा वकालत गर्दै आएका अधिवक्ता नरेन्द्रनाथ योगीका अनुसार प्रहरीकै संलग्नतामा हत्या भएको देखिन्छ । तर प्रहरीले अनुसन्धान अगाडि बढाएको पाईदैन ।
उनले भने यसले गर्दा पीडित पक्षलाई न्याय भन्दा पनि पीडा थपेको र अपराधिलाई उन्मुक्ति दिन खोजेको अनुभूति भएको छ ।
यस घटनाका विषयमा केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेको हो तर घटना भएको दुई वर्षसम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरेको उनले बताए ।तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले घटना अनुसन्धानमा ९० प्रतिशतसम्म पुगेको दुई वर्षअधि भनेका हुन् तर पनि आरोपित माथि कारवाही हुन नसकेको उनको भनाई छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका दुवै जनाले भने आफू निर्दाेस रहेको दाबी गर्दै आएका छन् ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाको फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए । उनले भने त्यो घटना हुँदा हामी थिएनौँ । घटना के कति कारणले भएको हो फाइल अध्ययन गरी कारवाही प्रक्रिया अगाडि बढाउने भन्दै पीडित पक्षलाई सम्झाएर पठाएको उनले बताए ।