सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयको बाँकी पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षालाई प्रमुख प्राथमिकता दिने बताएका छन् । बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै सिंहले अपुग भएका संरचना निर्माण गर्ने, शिक्षाको गुणस्तरलाई बढाएर रोजगारी उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने बताए । आफनो चार वर्षे कार्यकालमा आफ्ना सबै लक्ष्य पूरा गरेर फर्किने भन्दै सिंहले प्रदेश सरकार, राजनीतिक दल, विभिन्न शैक्षिक संघ संस्थाहरु, विद्यार्थीहरुसँग सहकार्य गरेर सबैको विचार समेटेर अघि बढ्ने बताए ।
‘विश्वविद्यालयमा भौतिक संरचनाको कमी भएको जानकारी पाएको छु ।’ उनले भने, ‘अपुग भएको बाँकी भौतिक संरचनाहरु तयार गरेर सौन्दर्य, वातावरण तयार गर्न लाग्ने छु ।’ गुणस्तरीय शिक्षा आफ्नो प्रथामिकता भएको भन्दै सिंहले प्राविधिक, भोकेसनल, बायोकेमिकल, साइन्स, टेक्नोलोजी तथा कृषि अध्ययनसहितको आधुनिक विश्वविद्यालयको रुपमा विकास गर्न लाग्ने बताए । कुनै पनि विद्यार्थीका आमा, बुवाले आफ्नो सन्तान विश्वविद्यालयमा अध्ययन गरेर बेरोजगार नै रहोस् भन्ने चाहदैनन्, उनले थपे, ‘गुणस्तरीय शिक्षा उत्पादनमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’
गुणस्तरीय शिक्षालाई विशेष जोड दिएको अवस्थामा विश्वविद्यालय उद्योग स्थापना गर्ने महान अभियानकर्ता बन्ने भन्दै उनले शिक्षाको गुणस्तरीयतालाई हेरेर अन्तरराष्ट्रिय विद्यार्थी पनि यहाँको ज्ञान लिन आउने विश्वास व्यक्त गरे ।
विश्वविद्यालयका कुनै पनि प्राध्यापकहरु अख्तियारको ढोकामा पुग्न नहुने भन्दै उपकुलपति सिंहले विश्वविद्यालयमा हुने सम्पूर्ण भ्रष्ट्राचार जन्य गतिविधिको जरादेखि नै अन्त्य गर्दै र भ्रष्टाचार विरोधी आन्दोलन विश्वविद्यालयले नै गर्ने बताए । शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन नसक्ने बताउँदै सिंहले सबैलाई सम्मान गर्दै विश्वविद्यालयलाई छोरा सरह हुर्काउने योजना सुनाए ।
समाजमा रहेर उच्च ओहदामा रहनेदेखि अन्य क्षेत्रमा रहेर काम गर्ने व्यक्तिलाई जन्माउने थलो नै विश्वविद्यालय भएकाले यसको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको उपकुलपति सिंहको भनाई थियो ।
आफू कालीकोटको गाउँमा जन्मेर हाइस्कुल दैलेखमा पढ्दै विश्वविद्यालय पढ्न कीर्तिपुर र काठमाण्डौं पुग्दासम्मको विगत सम्झिदै उनले कर्णालीको अशिक्षालाई शिक्षाका माध्यमबाट हटाउनुपर्नेमा जोड दिएका थिए । र आफू सोही अनुसार कर्णालीमा फर्किएको उनको भनाई थियो ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्कीले सिंहलाई उपकुलपतिको रुपमा पाउँदा खुशी व्यक्त गर्दै कार्यकाल अविस्मरणीय हुने विश्वास व्यक्त गरे । समारोहमा विश्वविद्यालयका विभिन्न क्षेत्रमा प्रध्यापक, विभिन्न क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुले उपकुलपतिको कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय प्राणिशास्त्र विभागमा प्राध्यापक रहेका प्राडा नन्दबहादुर सिंहलाई फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्त गरेको थियो । यसअघि विश्वविद्यालयमा विगत ४ महिनादेखि उपकुलपति पद रिक्त रहेको थियो । तत्कालीन उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो ।