सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको नक्कली नम्बर प्रयोग गरेको आरोपमा काफ्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काफ्लेले २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका छन् ।
नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा काफ्ले सहभागी नभएर अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत कात्तिक ८ गतेदेखि सञ्चालनमा रहेको उक्त अस्पतालको काफ्ले सञ्चालकसमेत हुन् । उनी आफूलाई आईभीएफ विशेषज्ञको रुपमा चिनाउँदै आएका छन् । काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर डाक्टर लेख्नुका साथै बिरामी चेकजाँच गरिरहेको पाइएकाले पक्राउ गरेर कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले सुर्खेत प्रहरीलाई निर्देशन दिएको थियो । नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएरै नक्कली प्रवेशपत्र पेश गरेको उजुरीका आधारमा काफ्लेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवी रावलले काफ्लेमाथि परेको उजुुरीको आधारमा पक्राउ गरेको बताए । उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरी र निर्देशनमा काफ्लेलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका काफ्लेलाई बिहीबार तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जानकारी पनि डिएसपी रावलले दिए । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा काफ्लेले नक्कली एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्दै आएको खुलेको छ । नक्कली लाइसेन्सको आधारमा बिरामी जाँच्दै आएका काफ्लेलाई ठगी, आपराधिक लाभ र किर्ते कागजातलगायतको अभियोगमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
अनुमति‘ रद्द भएको अस्पताल सञ्चालन
नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्रको आधारमा बिरामी जाँच गरेको आरोपमा पक्राउ परेका काफ्लेले सञ्चालन गरेको अस्पतालको अनुमति रद्द भएको पाइएको छ । महाशाखाले २५ शैयाको अस्पताल सञ्चालन गर्न अनुमति दिएको थियो । अनुमति पत्र रद्द भए पनि विगत ५ महिनादेखि अस्पताल सञ्चालनमा थियो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालन र अस्थायी अनुमति पत्र त्रुटीपूर्ण देखिएपछि अनुमति रद्द गरेको थियो ।
‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० र स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयमा प्रदेशका कुनै पनि अस्पताल सञ्चालनको अनुमति र नवीकरणको जिम्मा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय निर्णयलाई दिएको छ । तर, सचिवलाई बेवास्ता गरेर मन्त्रालयको स्वास्थ्य महाशाखाले एकल निर्णय गरेर उक्त अस्पताललाई अस्थायी स्वीकृति दिएको थियो । महाशाखाको उक्त स्वीकृतिलाई सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव मानबहादुर बीकेले बदर गर्दे अस्थायी अनुमति खारेज गरेका थिए ।
स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले पनि मन्त्रालयले दिएको अस्थायी अनुमति पत्र त्रुटिपूर्ण देखिएपछि गत कात्तिक महिनामै अनुपति पत्र रद्द गरिसकेको जानकारी दिए । उनले भने, ‘अस्पतालले लिएको अस्थायी अनुमतिपत्र रद्द भइसकेको छ, त्यसपछि अनुमति लिए नलिएको जानकारीमा छैन ।’ अस्पताल उद्घाटनका लागि कात्तिक ७ गते उपराष्ट्रपति नन्दबहादुर पुनसुर्खेत आएका थिए । अस्पताल मापदण्डबिना सञ्चालनमा आएको र अनुमतिपत्र नै त्रुटिपूर्ण रहेकाले सामाजिक विकास मन्त्री दल रावलले अस्पताल उद्घाटन गर्न नजादा राम्रो हुने सुझाव दिएपछि उपराष्ट्रपति पुन अस्पताल उद्घाटन नगरेरै फर्केका थिए । यसैबीच अस्थायी अनुमति पत्र रद्द भएको शुभलक्ष्मी अस्पतालले स्थायी अनुमति पत्रका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा निवेदन दिएको पाइएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनीधि वाग्लेले अनुमतिका लागि निवेदन आए पनि अनुमति नदिएको बताए । अस्पतालका अध्यक्ष पसल रोकायले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाबाट अस्थायी अनुमति पत्र लिएरै अस्पताल सञ्चालन गरिरहेको दाबी गरेका छन् ।