काठमाडौं। प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन आज मतदान हुँदैछ। त्यसको लागि प्रदेश सभाको बैठक शुरू हुन लागेको छ।
बिहान ८ बजेदेखि बैठक तय गरिएपनि केही तयारी नपुगेकोले अब केहीबेरमा बैठक शुरू हुने प्रदेश सभाका सचिव रंजितकुमार यादवले देखापढीलाई बताए।
"बैठकको शुरूमा केही सांसदहरूले बोल्नुहुनेछ अनि मतदान गर्ने तयारी छ", उनले भने। दलीय सहमतिबाट निकास ननिस्किएपछि मतदानमार्फत नाम र राजधानीको टुंगो लगाउन लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश २ को राजधानीबारे सबै दल एकमत भए पनि नाममा सहमति हुन सकेको छैन। प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव दर्ता भएको यादवले बताए।
सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मधेश’, प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला-भोजपुरा’ को प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। त्यस्तै केही सांसदहरूले ‘मध्य मधेश प्रदेश’ नामका लागि प्रस्ताव गरेका छन्। प्रदेशको राजधानी 'जनकपुरधाम' राख्ने विषयमा दलहरू करीब सहमत छन्। प्रदेश सभा सचिवालयका अनुसार नेकपा, समाजवादी, नेपाली कांग्रेसले 'जनकपुरधाम' लाई प्रदेश राजधानी प्रस्ताव गरेका छन्।
केही सांसदहरूले वीरगंजलाई र केहीले वीरगंजसहित अलि फराकिलो ठाउँलाई तोकेर राजधानी बनाइनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन्।
प्रदेश २ मा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाको ३२ , नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ गरेर कूल १०७ जना मतदाता छन् । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ। तर, कुनै दलसँग दुई तिहाइ पुग्दैन।