धनुषा। प्रदेश–२ को नाम टुंगो लगाउन आज प्रदेश सभामा मतदान चलिरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको ‘जानकी’ नाम अस्वीकृत भएको छ। अहिले नेपाली कांग्रेसले प्रस्ताव गरेको नाम ‘मिथिला भोजपुरा’माथि छलफल चलिरहेको प्रदेश सभा सदस्य मनिषकुमार सुमनले बताए।
यसअघि नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश नाममा ३७ मत मात्र प्राप्त भएको थियो। विपक्षमा ७० मत प्राप्त भयो। जानकी प्रदेशको नाममा नेकपाबाहेक अन्य पाँच जना प्रदेश सभा सदस्यले मत दिएका छन्। प्रदेश सभामा गोप्य मतदान भइरहेको छ।
मतदानमा प्रदेश सभाका १०७ जना सदस्य नै सहभागी छन्। प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत आवश्यक पर्छ। १०७ को दुई तिहाइ ७२ हुन आउँछ। तर, प्रदेश सभामा कुनैपनि दलको दुई तिहाइ पुग्दैन।
प्रदेश सभामा समाजवादी पार्टीका ३०, राजपाका २५, नेकपाका ३२ , नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका एक जना सदस्य छन्।
कांग्रेसको प्रस्ताव पनि पारित नभएमा कांग्रेसकै अर्का सांसद राजेश्वर प्रसाद साहले प्रस्ताव गरेको ‘मध्य मधेश’ नामको प्रस्तावमा मतदान हुनेछ।
त्यो प्रस्ताव पनि पारित नभए अन्तिममा सत्तारुढ समाजवादी-राजपाको तर्फबाट समाजवादी पार्टीका सांसद शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको ‘मधेश’ नामका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
नामबारे मतदान सम्पन्न भएर अन्तिम परिणाम घोषणा भएपछि राजधानीको प्रस्तावमा मतदान हुने तय भएको छ।