खड्क सुनार
मुगु । जिल्लाको उत्तरी भेगको सोरु गाँउपालिकाको इलाका प्रशासन कार्यालय विगत ३१ महिनादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदंै आएको छ ।
२०७३ साल कात्तिक महिनामा स्थापना भएको इलाका प्रशासन कार्यालयले स्थापनायता ६ महिना मात्र कार्यालय प्रमुख पाए पनि बाँकी अवधि कार्यालय सहयोगीको भरमा संचालन हुँर्दै आएको हो ।
एक जना अधिकृत, नायव सुब्बा दुई, सहायक कम्यूटर अपरेटर एक, सहायक लेखापाल एक र कार्यालय सहयोगी दुईसहित ७ जना कर्मचारीको दरबन्दी रहे पनि लामो समयदेखि दुई जना कार्यालय सहयोगीको भरमा कार्यालय छोडिएको छ ।
स्थापनाकालसँगै कार्यालय प्रमुख दिलबहादुर पौडेलले ६ महिना सेवा सञ्चालन गरेर काज फिर्ता भएपछि त्यसयता प्रशासनमा कार्यालय सञ्चालन गर्न कुनै अधिकृत कर्मचारी खटाइएको छैन ।
अधिकृत पौडेलको काज सरुवा फिर्तासँगै त्यहाँ रहेका अरु कर्मचारी पनि सरुवा मिलाएर गएपछि प्रशासन कार्यालय सहयोगीको भरमा छोडिएको हो । प्रतिमहिना आठ हजार ८ सय घरभाडामा सञ्चालन उक्त कार्यालयका सामग्रीको हेरचाह गर्नेबाहेक अरु काम पूर्णरुपले बन्द छ । अफिसियल काम काज गर्ने कर्मचारी नहुँदा कार्यालयबाट कुनै पनि प्रकारको सेवा प्रवाह हुन सकेको छैन । कर्मचारीका लागि पटक–पटक गृह मन्त्रालयमा पत्राचार गरे पनि सुनुवाई भएको छैन ।
शोरु गाउँपालिकाअन्तर्गत पर्ने भिई, नार्थपु, फोतु, धैनकोट, कालै, फोतु, सोरुकोट, रुम, गिलाहालगायतका स्थानका नागरिकलाई सरकारी सेवा दिने उद्देश्यले स्थापना गरिएको सो इलाका प्रशासनमा हाल कर्मचारी नभएपछि स्थानीयलाई तीन दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी धाउनुपर्ने बाध्यता छ ।
आफनै घरआँगनमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि ताँमझामका स्वागत गरेका स्थानीयहरु छोटो समयै कार्यालयबाट सेवा प्रवाह बन्द भएपछि खिन्न भएका छन् । शोरु गाँउपालिका वाड नम्बर १ नरबिर शाहीले गाँउबाट सेवा लिन पाईने भयो भनेर खुसी जनता अहिले निराश भएको बताए । उनले भने, ‘प्रशासन आँउदा बल्ल सरकार आए जस्तो भएको थियो, यतिछिटो नै खाली हुँदा हामीलाई फेरि दुःख हुने भएको छ ।’ गाँउमा आएको प्रशासनमा कर्मचारी नभएपछि काम रोकिनु राम्रो नभएको बताउँदै शाही जिल्लाका नेता र सरकारलाई कर्मचारी व्यवस्थ गर्न आग्रहसमेत गरे । लामो समयदेखि अधिकृतसहित कर्मचारी खाली भएपछि स्थानीय राजनीतिक दलका नेताले कर्मचारी ल्याउने आश्वसन मात्र दिएको तर काम नगरेको स्थानीयको गुनासो छ । अर्का स्थानीयबासी रुपसिंह नेपालीले सन्तानको नागरिकता बनाउन फेरि सदरमुकाम जानुपर्ने बाध्यता आइलागेको बताउँदै नेतालाई जनताका समस्या बुझेर काम गर्न आग्रह गरे ।
जिल्लामै कर्मचारी नहुँदा इलाका प्रशासनमा आवश्यकता अनुसार कर्मचारी खटाउन नसकिएको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । कार्यालयनै खाली हुने अवस्था आउन नदिन मन्त्रालयमा पटकपटक लेखर पठाएको र लोकसेवा कार्यालयमा पनि दरबन्दी माग गरेको उनले जानकारी दिए । यसै गरी स्थानीयलाई सेवा दिने उद्देश्यले सोरुसँगै मुगुको कामारोङ्ग गाँउपालिकामा स्थापना गरिएको इलाका प्रशासन कार्यालय कर्मचारीको अभावले सेवा प्रवाह बन्द गरिएको छ ।