सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सह–इन्चार्ज तथा प्रदेशसभाका सदस्य यामलाल कंडेलले सरकार परिवर्तनको बिषयलाई लिएर अनावश्यक भ्रम फैलाउने काम भइरहेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत नेता कंडेलले दुई वर्षको समयमा सरकारले गरेका कामको बिषयमा समिक्षा भएपनि परिवर्तनको कुरालाई लिएर अनावश्यक चर्चा भइरहेको बताए ।
सरकार गठन भएको २ बर्ष बित्दा त्यो बिचमा के कस्ता कामहरु भए भन्ने बिषयमा अहिले पार्टीका विभिन्न तहमा छलफलको बिषय बनेको हो । उनले भने, ‘२ बर्षको बिचमा सरकारका बिषयमा गम्भिर पूर्वक छलफल भएको कुरा साँचो हो । अहिले पनि सरकारको बिषय लिएर मसँग छलफल गर्न आउनेको संख्या पर्याप्त छ । बजेट अधिवेशन पछि केहि सांसदहरुले त्यो बिषय उठाएपनि त्यो दलका लागि राम्रो संकेत हैन भन्ने म नै हुँ ।’
‘सरकारका विरुद्ध १४ जनाले हस्ताक्षर गरेको कुराको चर्चा भइरहेको छ । कसले कहाँ सहि छाप गरे त्यो उहाँहरुको कुरा हो ।’ उनले थपे,‘किन यस्तो गरे त्यो उहाँहरुको कुरा हो । अरुले हस्ताक्षर गरे त्यसको अपजस मैले पाउनुपर्ने अवस्था छ ।’ केहि समय पहिले पूर्व एमाले र पूर्व माओवादीको छुट्टा छुट्टै बैठकमा सरकार परिवर्तबारे कुरा उठेको कुरालाई स्वीकार्दै नेता कंडेलले त्यो आफ्नो रुचिको बिषय नभएको बताए ।
हाल सरकारको काम कारबाहीबारे पार्टी केन्द्रीय तहमा गम्भिरताका साथ छलफल जानकारी दिदै नेता कंडेलले माथिल्लो तहमा पनि सरकारको गतिशिलताबारे भ्रम नरहेको बताए । पार्टी भित्रका फरक फरक बुझाईले आफुलाई व्यक्तिगत रुपमा फरक नपारे पनि पार्टीलाई कमजोर बनाउने भन्दै उनले आफ्नो मात्रै लेखाजोखा नराखेर अरु नेताहरुको पनि लेखा जोखा राख्न पत्रकारहरुलाई समेत आग्रह गरे । कर्णालीको सरकार परिवर्तन पार्टीको केन्द्रीय निर्णय र प्रदेशका सांसदको निर्णयबाट पनि गर्न सकिने बताए ।
‘यो समय नेकपाको लागि केहि गर्ने समय हो ।’ उनले थपे, ‘नेकपा भित्र हिजोका फरक फरक धारणा आन्दोलन आज हाम्रो साझा सम्पत्ति हुन सक्छ । नेकपा एकतावद्ध भएर अघि बढ्ने छ । आन्तरिक कुराहरुलाई सुधार गर्दै अघि बढ्ने छ ।’अरुको उद्देश्य थाहा छैन तर आफ्नो उद्देश्य नेकपा बनाउने भएको भन्दै उनले यसरी नेकपा भित्रै फरक फरक बाटोमा हिँडे नेकपाको भविष्य के होला भन्दै प्रश्न समेत गरे । साथै पार्टीको पूर्व मान्यतालाई व्यूताउने गरी आफ्नो तर्फबाट कुनै पनि काम नहुने बताए ।
प्रतिपक्षले सहयोग गरिरहेको अवस्थामा कर्णालीको गरिबीलाई प्रतिपक्ष बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा आफ्नो भएको भन्दै उनले अरु पार्टीलाई केहि नगरे पनि विकल्प रहेको तर नेकपाको लागि केहि गर्नु बाहेक अरु विकल्प नरहेको बताए । कर्णाली प्रदेशमा नै रहेर केहि गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आफुले प्रदेश रोजेको भन्दै उनले पार्टीको सरकारलाई अघि बढाउने दाहित्य हिजो र आज पनि रहने बताए । दुई पार्टी एक हुँदा केहि केहि फरक परिस्थिति त अवश्य पनि आउने भन्दै उनले कोराना भाइरसका (कोभिड १९) सदन नचल्ने भएपछि पत्रकार सम्मेलन गरेर आफ्नो धारण व्यक्त गरेको समेत बताए ।