हस्त बुढा
जुम्ला । जुम्लामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको त्रासले मानिस गाउँमा फर्किन थालेपछि जुुम्ला सदरमुकाम बजार सुनसान बनेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि जुम्लाबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो ।
सरकारले आउँदो चैत १० गतेदेखि लामो दूरीका गाडीहरु समेत चल्न नदिने बताएपछि जुम्ला सदरमुकाम बजारमा विभिन्न पेशा व्यवसाय, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालयमा देशका विभिन्न जिल्लाबाट जुम्ला पढ्न आएका विद्यार्थी गाउँ फर्किन हतारिएका हुन् ।
लामो दूरीका गाडी चल्न रोकिनुअघि नै घर फर्किन चाहनेहरुका कारण जुम्ला बसपार्कमा र जुम्ला विमानस्थलमा सर्वसाधारणको भीड लागेको छ ।
शनिबार विहानदेखि नै जुम्ला विमानस्थलमा टिकट लिनेहरुको भिड देखिएको छ । एकै पटक ठूलो संख्यामा मानिस टिकटका लागि बिमानस्थल र बसपार्क काउण्टर पुगेका कारण धेरै सर्वसाधरणलाई टिकट काट्न समेत मुस्किल परेको छ ।
दैनिक सयौं संख्यामा मानिस बाहिरिन जान थालेपछि जुम्ला सदरमुकाम सुनसान हुन थालेको हो । विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभा सम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै जुम्ला सदरमुकाममा मानिसको चहपहल घटेको छ ।
अहिले जुम्लाबाट बाहिर पढ्न गएका युवायुवतीदेखि भारतमा पैसा कमाउन गएका यहाँ स्थानीय आफ्नै घर फर्किन दशैंको समयमा भन्दा बढिनै आफ्नौ घरमा आउनेको संख्या प्रतिदिन बढिरहेको स्थानीय वीरबहादुर शाहीले बताए । सदरमुकाममा प्रायः विद्यार्थी बस्ने भएकाले बजारको चहलपहल उत्तिकै बढेको हुन्थ्यो, तर सबै विद्यार्थी आफनो गाउँ घर फर्के पछि बजार एक किसिमको सुनसान भएको स्थानीय व्यापारी तिलबहादुर भण्डारीले जानकारि दिए । यो भन्दा पहिला दैनिक २० हजारको सामान्य व्यापार भएपनि आजभोलि कुनै व्यापार नहुने र पसल खोल्ने काम मात्रै भएको उनले सुनाए ।
कोरोना भाइरसकै त्रासले नाका बन्द गर्ने हल्ला आए संगै यहाँका नागरिक दैनिक उपभोग्य वस्तु भण्डारण गर्नमा जुटेका स्थानीय अनिता शाहीले बताइन् ।