सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा क्यारेन्टाइन कक्ष स्थापनाको काम सुरु भएको छ । आइतरबारदेखि खुलामञ्चमा नेपाली सेनाले क्वारेन्टाइन कक्ष निर्माण थालेको हो । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेबारे खटिएको टोलीले चारसय बेडसहितको क्वारेन्टाइन निर्माण थालेको हो ।
यसअघि शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार शैयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । तर रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि सेनाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माणको काम अघि बढाएको थियो । बुलबुले पनि प्राविधिक हिसाबले उपयुक्त नभएपछि खुल्ला मञ्चमा निर्माणको काम सुरु गरिएको उत्तरपश्चिम पृतनाका उपरथी सरोजप्रताप राणाले जानकारी दिए ।
क्वारेन्टाइन कक्षका लागि पाता टंगाउने काम सोमबार (आज) सम्म सकिने भए पनि बस्नको लागि बेड, ट्वाइलेट बाथरुम, पानी, बिजुली बत्तीलगायतका कामको व्यवस्थापनका लागि केही समय लाग्ने उनको भनाई छ । अहिले निर्माणका अन्य समाग्रीहरु विभिन्न क्षेत्रबाट मगाउने काम भइरहेको भन्दै उनले केही दिनमा नै सामग्रीहरु आइसक्ने बताए । साथै उनले आवश्यकता अनुसार प्रदेश सरकारबाट बजेट प्राप्त हुने जानकारी दिए ।
‘प्रदेश सरकारको निर्णय अनुसार हाललाई ४ सय बेड बनाउने छौँ ।’ उनले भने, ‘आवश्यकता अनुसार बढाउन पनि सकिने छ । एउटा बेडमा २ जना पनि बस्न सकिने बनाउन सकिने छ भने अन्य बेडहरु पनि थप्न सकिने उनको भनाई छ ।’ निर्माणका लागि दुईसय बढी नेपाली सेना जुटिरहेका छन् ।
साथै उनले विश्वविद्यालयमा पनि क्वारेन्टाइनका लागि प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि क्याम्पस भवनहरुलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोतसाधन जुटाएमा एक सातामै एक हजार शैयाको क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ ।
प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीबासीलाई फर्किन आह्वान गरिसकेकाले संक्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरु फर्कने क्रम बढ्दो छ । घर फर्कने कर्णालीबासीको बबईलगायतका नाकाहरुमा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।
मन्त्रालयमा साबुन पानी
कोराना संक्रमणलाई लक्षित गरेर मन्त्रालय तथा अन्य सरकारी कार्यालयहरुमा साबुन पानीले हात धोएर मात्रै प्रवेश गराउन थालिएको छ । कोरोना संक्रमणबाट बच्नका लागि साबुन पानीले हात धुनु सबैभन्दा उपयुक्त उपाए भएको भन्दै मन्त्रालयहरुमा साबुन पानी राखिएको हो ।
जसअन्तर्गत सामाजिक विकास मन्त्रालयमा साबुन पानीले हात धोएर मात्रै प्रवेश गराउन थालिएको छ । जसमा मन्त्रालय जाने जो कोहीले पनि मन्त्रालयमा भित्र प्रवेश गर्दा हात धोएर जान पाउने नत्र नपाउने मन्त्रालयले जानकारी दिएको छ । त्यति मात्रै नभएर हेल्थ डेस्क स्थापना गरेर सचेतनामूलक पर्चा पम्पलेटहरु बाँड्नेलगायतका अन्य सचेतनामूलक काम पनि सुरु गरिएको छ ।
कोराना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्यकर्मीहरुको नेतृत्वमा साबुन, पानी, सचेतनासम्बन्धीका विभिन्न कामहरु मन्त्रालयले सुरु गरेको मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । मन्त्रालयमा स्टार्फ नर्स पुष्पा ओलीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सचेतना फैलाउने काम गरिरहेका छन् । उनले भने, ‘अन्य मन्त्रालयहरुले पनि साबुन पानीले हात धुने हेल्थ डेस्क स्थापना गर्ने लगायतका कामहरु अघि बढाएका छन् ।’ अन्य मन्त्रालयहरुमा पनि केही दिनमा नै हेल्थ डेस्क स्थापना भइसक्ने बताए ।
अत्यावश्यक पसलबाहेक बन्द
सोमबार (आज) देखि वीरेन्द्रनगरका अन्यावश्यक पसल बाहेक अन्य पसलहरु बन्द गर्न अपिल गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ र सम्पूर्ण वस्तुगत समितिको आइतबार बसेको बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले आइतबार एक अपिल पत्र जारी गर्दै सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायीलाई बन्द गर्न अनुरोध गरेका छन । अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द नै रहने उल्लेख गरिएको छ । दैनिक उपभोग्य बस्तुहरु खाद्य, खुद्रा तथा किराना पसल, मेडिकल, तरकारी पसल, खाजा नास्ता पसल तथा इन्धन तथा पेटोलियम पदार्थ विक्रीवितरण गर्ने पसल बाहेक अन्य पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको महासचिव कंडेलको भनाई छ ।
कर्णाली सरकारद्वारा टोल फ्रि नम्बर सञ्चालनमा
कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) नियन्त्रण गर्ने उद्देश्यका साथ टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारको उच्चस्तरीय अनुगमन समितिको बैठकले टोल फ्रि नम्बर सञ्चालन ल्याउने भएको हो ।
कुनै पनि ब्यक्ति बिरामी भएमा १११० नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएर बिरामीका विषयमा जानकारी दिन सक्ने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । ‘जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले हरप्रयास जारी राखेको छ ।’ उनले भने, ‘तत्काल क्यारेन्टाइन निर्माण काममा तिब्रता दिइएको छ ।’ क्यारेन्टाइनको अवस्थामा र त्यहाँ पर्ने आवश्यक सामग्री आपुर्तिका लागि अनुगमन सचिवालयको गठनसमेत गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।