सुर्खेत । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले ६२ वटा आइसोलेसन कक्ष तयार पारेको छ । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा ६२ वटा आइसोलेसन कक्षहरु निर्माण गरेको हो ।
कोरोनाको जोखिमलाई मध्यनजर गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ३५ वटा कक्ष, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चार , जिल्ला अस्पताल कालीकोट, हुम्ला, दैलेख, जाजरकोटमा तीन÷तीन, मुगुमा दुई , डोल्पा चार र पश्चिम रुकुममा चार वटा कक्ष निर्माण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेपछि नेपाली सेना क्वारेन्टाइन निर्माण गरेको कर्णाली प्रदेशमा स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी)ले बताइन् । ‘जिल्ला जिल्लामा पनि क्यारेन्टाइनको निर्माण गरिएका छन् ।’ उनले भनिन्, ‘आईसोलेसन कक्ष पनि जिल्ला जिल्लाका अस्पताललाई बनाउन निर्देशन दिएको छ । सबै जिल्ला अस्पतालले निर्माण गरिसकेका छन् ।’
कर्णालीमा रहेका निजी अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको निर्देशक भण्डारी (जोशी) बताइन् । ‘हामीले निजी अस्पतालहरुलाई आइसोलेसन कक्ष बनाउनका लागि आवश्यक निर्देशन दिएका छौं ।’ उनले भनिन्, ‘कोरोना विरुद्धको सुरक्षालाई पहिलो प्राथमिकता राखेका छौं ।’
रगतको नमूना संकलन गर्न तीन जना विशेषज्ञ
कर्णाली प्रदेशमा कोरोनाको रगतको परीक्षण गर्ने तीन जना चिकित्सक रहेका छन् । कर्णाली प्रदेश सरकारले कोरोनाको नमूना परीक्षण गर्ने तीन जना विशेषज्ञहरु रहेको जनाएको छ । कुनै व्यक्तिलाई कोरोना वा कोरोना जस्तो लक्षण देखिएका विशेषज्ञहरुलाई खटाउने गरी तयारी अवस्थामा राखिएको निर्देशक भण्डारी (जोशी)ले जानकारी दिइन् । ‘सबैले रगतको नमूना संकलन गर्ने कुरा भएन् ।’ उनले भनिन्, ‘तीन विशेषज्ञ डाक्टरलाई काठमाडौंमा पठाएर तालिम लिएर आउनु भएको छ । कुनै जिल्लामा समस्या देखिए हामी खटाउँछौं ।’ रगतको परिक्षण गर्ने रगत संकलन गरिने उपकरण भिटिएमको व्यवस्था गत फागुनमा नै गरिएको अहिले कर्णालीमा आवश्यक मात्रामा नै रहेको निर्देशक भण्डारी(जोशी)ले बताइन् । ‘आवश्यक मात्रामा भिटिएम फागुनमा नै व्यवस्था गरेका थियौं ।’ उनले भनिन्, ‘मौसमी बिरामी हुँदा हुम्ला र डोल्पामा पठाएका थियौं ।’
पिपिइको समस्या
स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिइको समस्या विश्वभर रहेको र कर्णालीमा त्यो समस्या रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थोरै मात्रामा पिपिइ रहेको स्थानीय स्रोतको प्रयोग गरेर चिकित्सकको सुरक्षा व्यवस्था अपनाइने निर्देशक भण्डारी (जोशी) ले बताइन् ।
समूहमा हिँडडुल गर्न प्रतिबन्ध
कर्णाली प्रदेश सरकारको उच्चस्तरीय अनुगमन समितिले अनावश्यक समूहमा हिँडडुल गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिने भएको छ । समितिको संयोजक तथा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले अनुगमन समितिको बैठकमा सुरक्षा निकायका प्रमुखलाई आफूखुसी समूह बनाएर हिँडडुल गर्नेलाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । विशेष परिस्थितिबाहेक काममा भेला नहुन र समूहमा नबस्न आग्रह गर्दै मन्त्री भण्डारीले ड्रोन र स्थलगत रूपमा सुरक्षा निकायलाई निगरानी बढाएर अटेरी गर्नेलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए । सुर्खेतका पर्यटकीय स्थलहरू बुलबुले उद्यान, खेलमैदान, काँक्रेविहार र सार्वजनिक स्थानमा भेला हुन नदिनसमेत आग्रह गरेका छन् ।