सिमकोट । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन हुम्ला सदरमुकाम सिमकोट पूर्णरुपले बन्द भएको छ ।
सदरमुकाम सिमकोटमा मानिसको सामान्य चहलपहल भएपनि बजार पूर्णरुपले बन्द रहेको छ । तल्लो बजार र माथिल्लो बजारमा सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन् भने अत्यावश्यक औषधी पसल मात्रै खुलेका छन । बजारको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरीले प्रचारप्रसार गर्दै पसल सञ्चालन नगर्न आग्रह गर्दै आफ्नो उपस्थिती बाक्लो बनाएको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरुले सम्झाई बुझाई घर पठाउने गरेका छन् ।
गाउँ प्रवेशमा रोक
जिल्ला सरदुमकाम समेत रहेकोे सिमकोट गाउँपालिका वडा दुईले आफ्नो वडा भित्र प्रवेशमा रोक लगाएको छ । वडा दुई ठेहे गाउँ जिल्लाकै बढी जनसंख्या रहेको गाउँ भएकाले पनि बाहिरबाट आउनेलाई रोक लगाएको वडा अध्यक्ष नरबहादुर भण्डारीले बताए । उनका अनुसार आफ्ना वडा भित्रका नागरीकmाई अन्य गाउँ जान र अन्य गाउँबाट आफ्नो वडामा आउनेलाई पनि प्रवेशमा प्रतिबन्द लगाइएको हो ।
त्यस्तै जिल्लाका दक्षिण क्षेत्रमा रहेका ताँजाकोट र सर्केघाड गाउँपालिकाले अन्य गाउँपािलिकाबाट आफ्नो गाउँपालिकामा आवतजावतमा रोक लगाएका छन् ।
नेपाल सरकारले लकडाउन गरेपनि जिल्लाका अन्य गाउँपालिकाबाट विभिन्न व्यक्तीको आवतजावत नरोकीएपछि बाध्य भएर आफ्नो क्षेत्रमा अन्य गाउँपालिकाबाट आवतजावत गर्ने कार्यमा रोक लगाएको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए ।
‘विश्वमै निकै तिब्रगतिमा संक्रमण फैलिन थालेको कोभिड–१९को संक्रमण हाम्रो पालिकामा नहोस भन्न हामीले बाध्य भएर यस्तो निर्णय गरेका हौ’ उनले भने, ‘नेपाल सरकारमको निर्णयलाई कार्यान्वयन गराउनका लागि पनि स्थानीय तहले यस्तो गर्नु परेको हो ।’
गाउँपालिकाको कार्यपालिकाको आपत्कालिन बैठकले गाउँपालिका स्तरमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थालाई आवश्यक पर्ने स्वास्थ्य सहयोगको लागि अनुरोध समेत गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । स्थानीय स्तरमा कोरोना भाईरसको संक्रमणबाट जोगिन प्रचार प्रसार गर्ने, खानपान र रहनसहनमा सजकता अपनाउनको लागिसमेत पालिकाले सबैमा आग्रह गरेको अध्यक्ष मल्लले बताए ।
छिमेकी गाउँपालिका अदानचुली, खार्पुनाथ, चंखेलीबाट मानिस र चौपायाको आवतजावतमा समेत रोक लगाईएको सर्केगाड गाउँपालिकाका प्रवक्ता कुसुम कार्कीले बताईन् । ‘पालिका भित्र प्रवेश गर्नको लागि अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।’ प्रवक्ता कार्कीले भनिन, ‘केही स्वास्थ्य समस्या परेको खण्डमा गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाको संयोजकत्वमा १३ सदस्यीय समस्या समाधान समिति समेत गठन गरिएको छ । यस्तै ताँजाकोट गाउँपालिका काठमाण्डौ लगायतका शहरबाट जिल्ला पुगेका आफ्ना आफन्तलाई १४ दिन सम्म होम क्वारेनटाईनमा बस्न अनुरोध गरेको मल्लले बताए ।