काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रभावबाट दक्षिण एशिया पनि मुक्त छैन्। आज १४ चैत दिउँसोसम्ममा दक्षिण एशियामा सबैभन्दा बढी प्रभाव पाकिस्तानमा परेको छ।
त्यहाँ एक हजार २३५ जना संक्रमित भएका छन्, जसमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २३ जना उपचारपछि निको भएका छन्। एक हजार २०३ जना अझै बिरामी छन्।
तर, मृत्यु संख्याको हिसाबले सबैभन्दा बढी प्रभाव भने भारतमा परेको छ। दक्षिण एशियाभरमा ३८ जनाको मृत्यु भएकोमा भारतमा मात्रै आधा भन्दा बढी अर्थात् २० जना छन्। संक्रमितको संख्या पाकिस्तानमा भन्दा कम भए पनि मृतक भने भारतमा बढी छन्। भारतमा ७५३ जना संक्रमित भएकोमा ६७ जना निको भएका छन् भने ६६६ जना अझै बिरामी छन्।
नेपालले ११ चैतदेखि एक साताका लागि लकडाउन घोषणा गरेको छ भने १२ चैतमा भारतले पनि २१ दिनका लागि लकडाउन घोषणा गरेको छ। भुटानले पनि देश बन्दको घोषणा गरेको छ।
श्रीलंकामा १०५ जना बिरामी भएकोमा कसैको मृत्यु भएको छैन। उपचारपछि सात जना निको भएका छन् भने ९९ जना अझै उपचाररत छन्। संक्रमितको तुलनामा मृत्युदर भने बंगलादेशमा सबैभन्दा उच्च छ। ४८ जना मात्र संक्रमित भएकोमा ५ जनाले ज्यान गुमाइसकेका छन् भने ११ जना निको भएका छन्, ३२ जना संक्रमित छन्।
अफगानिस्तानमा पनि मृत्युदर उच्च छ। ९४ जना संक्रमित भएकोमा ४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा दुई जना नयाँ बिरामीको मृत्यु भएको हो। २ जना निको भएकोमा ८८ जना भने अझै संक्रमित छन्। उनीहरूको उपचार भइरहेको छ। १३ जना संक्रमित भएको माल्दिभ्समा उपचारपछि ९ जना निको भइसकेका छन्।
दक्षिण एशियामा कोभिड(१९ को कम प्रभाव भने नेपाल र भुटानमा देखिएको छ। नेपालमा तीन जना संक्रमित देखिएकोमा एक जना उपचारपछि निको भएको छ र दुई जनाको उपचार हुँदैछ।
१३ चैतसम्ममा दुई जनामा मात्र संक्रमण देखिएको भुटानमा आज थप एक जनामा संक्रमण फैलिएर नेपालसँग समान तीन जना संक्रमित भेटिएका छन्। तीमध्ये एक जना संक्रमित अमेरिकी नागरिकलाई उनको देश फिर्ता पठाइसकिएको छ।
नेपालले ११ चैतदेखि एक साताका लागि लकडाउन घोषणा गरेको छ भने १२ चैतमा भारतले पनि २१ दिनका लागि लकडाउन घोषणा गरेको छ। भुटानले पनि देश बन्दको घोषणा गरेको छ।