काठमाडौं। पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली र तस्कर समूहबीच दोहोरो गोली हानाहान भएको छ। सो क्रममा तस्कर समूहका एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते छन्।
तस्कर समूहले चलाएको गोली लागेर नेपाली सेनाका एकजना जमदार घाइते भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठले देखापढीलाई जानकारी दिए।
तस्करको समूहले गस्तीमा रहेको नेपाली सेनामाथि फायरिङ गरेपछि सेनाले पनि फायरिङ खोलेको थियो।
घटना आज बिहान ९(१० बजेको बीचमा भएको हो। “अहिले कोरोना भाइरस संक्रमणको जोखिम भएपछि हामीले अन्य क्रियाकलाप रोकेका थियौं। तर, पनि नियमित गस्तीलाई कायमै राखेका छौं”, श्रेष्ठले भने, “हाम्रो टोली गस्तीमा गएकै समयमा पर्सा निकुञ्जको कोर एरियामा फायरिङको आवाज आयो। त्यसतर्फ टोली मुभ गर्यो।”
आवाज आएको नजिक नेपाली सेनाको टोली पुग्ने बित्तिकै त्यहाँ रहेका तस्करको समूहले गस्ती टोलीमाथि फायरिङ गरेपछि सेनाले पनि फायरिङ खोलेको श्रेष्ठ बताउँछन्।
एकजना घाइते भएकै अवस्थामा समातिएका छन् भने अन्य भाग्न सफल भए।
सेनाले उनीहरूको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरेको छ। बन्दोवस्तीका आवश्यक सबै सामानहरू लिएर शिकारकै लागि गएको देखिने सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
मृतकको सनाखत भएको छैन। पक्राउ पर्नेमा तस्करको समूहका मोहनसिंह दोङ रहेका छन्।
अहिले त्यहाँका प्रमुख संरक्षण अधिकृत, नेपाली सेनाका कमाण्डरसहितको टोली घटनास्थलमा नै छन्।