सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभाले कोरोना संकटको ‘लकडाउन’बाट समस्यामा परेका नागरिकलाई राहत दिन आग्रह गरेको छ ।
गरिखाने वर्गको दैनिक जीवनयापनमा गम्भीर संकट आएको भन्दै सरकारलाई राहत प्याकेज घोषणा गर्न माग गरेको छ । कांग्रेस कर्णाली प्रदेश संसदीय दलको कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत सबैभन्दा धेरै दैनिक ज्याला मजदूरी गरेर खानेवर्ग कर्णालीमा रहेको भन्दै उनीहरुका लागि राहत प्याकेज घोषणा गर्न प्रदेश सरकारसँग माग गरेको हो ।
‘विपन्न तथा दैनिक ज्याला मजदूरीमा निर्भर कर्णाली प्रदेशका बासिन्दाहरुको दैनिक उपभोग्य बस्तुमाथि सहज र सर्वसुलभ पहुँच एवम् उपलब्धता र यस्ता समुदाय, वर्गको जीवननिर्वाह, स्वास्थ्य सेवाका लागि आर्थिक प्याकेज घोषणा गर्न प्रदेश सरकारलाई आव्हान गर्दछौं,’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जारी गरेको सार्वजनिक अपिलमा उल्लेख गरिएको छ, ‘यस्तो विपद् एवम् संकट नियन्त्रणमा कांग्रेस सरकारको साथमा सधैं रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
विश्वभरि नै महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आत्मसंयमताका साथ सावधानी र सचेतना अपनाउन सबैमा अनुरोध गरेका नेता शाहीले सिङ्गो मानव जगत कोरोना भाइरससँग जुधिरहँदा कर्णाली प्रदेश सरकारले प्रकोप रोकथामका लागि गरेका समिति बनाउने, क्वारेन्टाइन निर्माण गर्ने, प्रतिकार्यमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, प्रदेशका नाकामा हेल्थ डेस्क राख्ने जस्ता कार्यको प्रसंशा गरेका छन् ।
‘समिति बनाएर मात्र महामारीको रुप लिएको कोरोना भाइरसबाट जोगिन सक्ने आधारहरू देखिदैन’, उनले अपिलमा भनेका छन्, ‘यस विषम परस्थितिमा कारोना भाइरसको रोकथाम तथा बिरामीहरूको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको स्वास्थ्य–सुरक्षामा ध्यान दिइ राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित तवरले प्रभावकारी परचिालन गर्न, औषधीलगायत स्वास्थ्य सुविधा लागि संघीय सरकार तथा कार्यान्वयका लागि स्थानीय तहसँग समन्वय गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछु ।’
कर्णाली प्रदेश सबैभन्दा बढी दैनिक ज्यालाजदुरी गरी जीवनयापन गर्ने वासिन्दाहरूको बाहुल्य भएको प्रदेश भएको भन्दै नेता शाहीले देश ‘लकडाउन’को अवस्थामा रहँदा सबैभन्दा बढी मार निम्न स्तरका वर्गले भोगिरहनु परेको उल्लेख गरेका छन् । शाहीद्वारा जारी अपिलमा भनिएको छ, ‘विपन्न तथा दैनिक ज्यालामजदुरीमा निर्भर कर्णाली प्रदेशका वासिन्दाको दैनिक उपभोग्य वस्तुमाथि सहज र सर्वसुलभ पहुँच एवं उपलब्धता तथा यस्ता समुदाय, वर्गको जीवननिर्वाह, स्वास्थ्यसेवाका लागि विशेष आर्थिक प्याकेज घोषणा गरी जिम्मेवारीपूर्वक सरकार अघि बढोस् ।’
भारत र संघीय राजधानी काठमाडौंलगायतका स्थानहरुबाट सुर्खेत, नेपालगञ्जलगायतका स्थानमा अलपत्र परेका विद्यार्थी तथा अन्य नागरिकलाई गन्तब्यसम्म पु¥याउने व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसँग माग गरेको छ । ‘बाहिरबाट आएका कर्णालीका नागरिकको प्रारम्भीक स्वास्थ्य जाँच, सुरक्षालगायत उद्दार एवम् प्रतिकार्य र आहारा व्यवस्थापनमा ध्यान दिई छिमेकी मुलुक भारत र अन्य मुलुकबाट आएका बासिन्दालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि प्रदेश सरकारले गर्नु आग्रह गरेको छ ।
वर्तमान संकटको अवस्थामा एकअर्काप्रति हिलो छयाप्ने नभई सबै एकजुट भई कोभिड–१९ विरुद्ध लड्ने समय भएको भन्दै शाहीले सरकारले कम बोल्ने र बढि काम गर्ने संस्कारको विकास गर्न आगह गरे ।