सुर्खेत । कर्णालीका दश वटै जिल्लामा २५८ वटा आइसोलेसन बेड तयार भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ५०, दैलेखमा ३०, सल्यानमा २२, रुकुममा ५, डोल्पामा ८, हुम्लामा ३, जाजरकोटमा ६, मुगुमा ७ र कालीकोटमा ७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
यसैबीच प्रदेश सरकारले कोरोना संक्रमणको आशंकामा सुर्खेतको जन नमूना माध्यमिक विद्यालयसँगै अन्तरनिर्भर समाजको होस्टेलमा राखिए ४८ जनालाई शनिबार नेपाली सेनाले निर्माण गरेको वीरेन्द्रनगरको खुलाचौर स्थित क्वारेन्टाइनमा सारेको छ ।
भारतका विभिन्न नाकाबाट उद्दार गरि ल्याएका कर्णालीका ती नागरिकलाई प्रदेश सरकारले सेनाको सहयोगमा निर्माण गरेको क्वारेन्टाईनमा खाने, बस्ने व्यवस्था सुनिश्चित गरेपछि उनीहरुलाई सारेको हो ।
नेपाली सेनाले वीरेन्द्रनगरको खुला चौरमा ४ सय बेडको क्वारेन्टाईन निर्माण गरेपनि त्यहाँ खान, बस्नका साथै ओढ्ना–विछौना खरिदमा ढिलाई हुँदा उद्दार गरी ल्याएका नागरिकलाई काम चलाउ क्वारेन्टाइनबाट सार्न ढिलाई भईरहेको छ ।
अझैपनि ७८ जना नागरिकलाई वीरेन्द्रनगरको अशोका होटलको काम चलाउ क्वारेन्टाइनमा राखिएको छ । हाल सुर्खेतमा भारतबाट फर्किएका १२६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने शंकास्पद ७ जनालाई होम क्वारेन्टाइनमा छ ।