सिमकोट । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका हुम्लाका सार्वजनिक स्थानमा चुना छर्किने कार्य सुरु भएको छ ।
जिल्लाको सदरमुकाम सिमकोटका सार्वजनिक स्थानहरूमा भएका किटाणुलाई नष्ट गर्न चुना छर्केर सरसफाई गरिएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न मानिसको भीडभाड बढी हुने क्षेत्रमा भएका किटाणु मार्न चुना छर्किएको छ । स्थानीय प्रशासनको अगुवाई र सहयोगमा सिमकोट बजार क्षेत्रमा चुना छर्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।
कोरोनाको सम्भावित जोखिमलाई कम गर्न फोहोर जम्मा भएको बजार क्षेत्रमा चुना छर्ने काम गरिएको प्रजिअ भट्टराईले जानकारी दिइन । उनका अनुसार सदरमुकाम सिमकोटको मुख्य बजार क्षेत्र, सिमकोट विमानस्थल, काठेचुली लगायतका क्षेत्रको करिब पाँच सय मिटर क्षेत्रमा चुना छरिएको छ ।
सुनसान सिमकोट
लकडाउनको छैटौं दिन आईतवार बिहानै देखि सदरमुकाम सिमकोटका चोकहरू सुन्य र सुनसान देखिएका छन् । प्रहरीले पटक–पटक अत्यावश्यक काम विना घरबाहिर ननिस्किन सर्वसाधारणलाई आह्वान गर्दे आएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाले लकडाउनको समयामा सदरमुकाम सिमकोट आफ्नो सुरक्षालाई थप कडा पारेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले बताए ।
शसस्त्र प्रहरी बलले जिल्ला सदरमुकाम सिमकोट माईकिङ्ग गर्दै यहाँका स्थानीयलाई घरबाट बाहिर ननिस्कन भन्दै प्रचार गर्दै तल्लो गाउँ र माथिल्लो गाउँ सहित बजार क्षेत्रमा घुमफिर गरिरहेका छन् ।
शसस्त्र प्रहरी बलले स्वच्छ र सफा रहन भन्दै सुझाब सल्लाह दिदै आएको थियो । यो समयमा मास्क लगाउन र सेनिटाईजर प्रयोग गर्ने तरीका सिकाउँदै गाउँमा पुगेको जनाईएको छ ।