सुर्खेत । विश्वमै डरलाग्दो रुपमा फैंलदो कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर नेपाल सरकारले दोस्रो चरणमा एक साता देशमा पुरै लकडाउन गर्ने निर्णय गरेकै दिन कर्णाली प्रदेश सरकारले त्यसको उल्लंघन गरेको छ ।
नेपालगञ्ज, सुर्खेतमा आलपत्र परेका यात्रुको उद्धारको नाममा कर्णाली प्रदेश सरकारले गाडी रिर्जभ गरेर सयौजनालाई नेपालगञ्ज–सुर्खेत हुँदै कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु र हुम्ला जिल्ला पठाइएको छ ।
कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय सुर्खेतको मिलेमतोमा छिमेकी मुलुक भारत र नेपालका विभिन्न शहरबाट आएका नागरिकलाई विना क्वारेन्टाईन र स्वास्थ्य परिक्षण हुल बाँधेर गृहजिल्ला पठाउने गरिएको छ ।
दैनिक जसो भारतका विभिन्न नाकाबाट आउने कर्णालीका नागरिकलाई नेपाल सरकारको नियम विपरित प्रदेश सरकार र स्थानीय प्रशासनको ािलेमतोमा पास जारी गर्दै गएराती रिजर्भ गरिएका ४÷५ गाडी बसमा यात्रु ठेलमठेल गरेर राती नेपालगञ्जदेखि सुर्खेतहुँदै कर्णालीका विभिन्न जिल्लामा पठाउने काम भएको छ । प्रदेश सरकारले आफैले गरेको भारतबाट फर्केका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णयको मसी सुक्न नपाउँदै यस्तो उल्लंघन गरेको हो ।
देश लकडाउनमा जानु अघिदेखिनै भारत र काठमाडौं, वुटवल, पोखरा लगायतका शहरबाट घर फर्कन नेपाल पुगेका हुम्ला, मुगु र जुम्लाका यात्रुहरुलाई उद्धार गर्ने नाममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्रीको बल मिचाईले यसरी सयौजना यात्रुहरुलाई गाडीमा पठाइएको हो ।
प्रदेश सरकारले पठाएको गाडीमा मुगु हुँदै जाने हुम्लाका एक सय २० जना यात्रु छन् भने मुगुका ५० भन्दा बढी यात्रु रहेको गाडीमा रहेको सर्केगाड गाउँपालिका–१ का कविराज काकीले जानकारी दिए । उनका अनुसार हुम्लाको सर्केगार्ड गाउँपालिका माथिका यात्रुहरुका लागि ४० जनाका दरले प्रदेशले तीन गाडीको व्यवस्था गरेको छ । ‘मुगुका यात्रुका लागि एक छुट्टै गाडी गरेको छ ।’ सुर्खेतको तारानाग्ला पुगेका कार्कीले भने, ‘हाम्रा जिल्लाका सामाजिक विकास मन्त्री दल रवालकै पहलमा हुम्लाको तत्लो क्षेत्रका यात्रहरुका लागि थप दुई गाडी रिर्जभ गरेर पठाएको छ ।’ स्रोतका अनुसार प्रदेशका आन्तररिक मामिला तथा कानून मन्त्री रशेसु भण्डारीको गृह जिल्ला जुम्लाका यात्रुका लागि पनि छुट्टै गाडीको व्यवस्था गरेर लकडाउनको समयमा यात्रु पठाउने काम गरिएको छ ।
‘विश्वलाई नै थला पार्ने गरेर फैलिएको कोभिड–१९ को संक्रमणलाई मध्येनजर गर्दै नेपाल सरकारले नाका बन्द गरेको एक हप्त नपुग्दै अर्को हप्ता लकडाउनको समय थप्ने निर्णय गरेको बेला भारतको रुपैंडिया, कैलालीको गौरीफन्टा, महेन्द्रनगरको बनबासाबाट आउने कर्णालीका नागरिकलाई सरकारकै खर्चमा गाडी रिर्जभ गरि प्रदेश सरकारकै मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्लामा दैनिकजसो यात्रु पठाइदै गरेको हामीले पाएका छौं,’ सुर्खेतको बबई नाकामा बस्ने एक स्वास्थ्यकर्मीले भने, ‘सामान्य नागरिकलाई मास्क लगाएर अत्यावश्यक काममा समेत बाहिर निस्कन लाठी देखाउने प्रदेश सरकारका जिम्मेवार मन्त्रीले आफन्तलाई बर्दिका प्रहरी लगाएर गाडी चढाउन सहयोग गर्न लगाएका छन् ।
आफ्नो नाम उल्लेख गर्न नमानेका ति स्वास्थ्यकर्मीका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोटका यात्रुलाई यसअघि ५ भन्दा बढी बस रिर्ज गराएर पठाइएको छ । त्यही प्रक्रियालाई निरन्तरता दिदैं आन्तरिक मामिला तथा कानून मन्त्री नरशेृ भण्ठारीले जुम्लाका र सामाजिक विकास मन्त्री दल रावलले हुम्लाका सयौ यात्रुलाई अहिले रातारात हुल बाँधेर गाडी रिजर्भ गर्दै पठाउने काम भएको छ ।
‘गाडी उपलब्ध नभएको खण्डमा पहुँच भएका मन्त्रीका गाउँका नागरिकलाई वीरेन्द्रनगरका होटलमा राख्ने गरिन्छ,’ सुर्खेतका होटेल व्यवसायीलाई उदृत गर्दै उनले भने, ‘अनि भोलीपल्ट गाडीको छिनोफानो गरेर मात्रै साँझ परेपछि गाडी जिल्लामा पठाइन्छ ।’
इसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगरले चाहेर पनि ती गाडीहरू रोक्न नसकेको बताएकाछ । ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राखौं भनेर सुझाव दिउँ भने उल्टै कति जान्ने भएको भनेर मन्त्री तथा उच्च पदस्थ अधिकारी हपार्छन कि भन्ने डर लाग्छ,’े नाम उल्लेख नगर्ने शर्तमा प्रहरी श्रोत भन्छ, ‘उनीहरूकै हालीमुहाली छ । पद र पावर भयो भने कोरोना पनि डराउँदो रहेछ भन्ने मलाई लाग्यो । अहिले दैनिक दुई सय भन्दा बढी व्यक्ति कर्णाली प्रवेश गरिरहेका छन् ।’
आइतवार राती ९ बजेर १८ मिनेटमा प्याजी कलरको बसमा पनि यात्रु ओसारेर लगेको वीरेन्द्रनगर सातका एक प्रत्यक्षदर्शीले जानकारी दिए । ‘बस प्याजी रंगको थियो, भित्र बत्ती बन्द थियो,’ उनले भने, ‘गाडीभित्र कम्तीमा पचास जना भन्दा बढी व्यक्ति भएको हुनुपर्छ ।
यसबारेमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाहिरबाट आएकाहरूलाई जाँच गरेर मात्रै बबई ल्याइएको र त्यहाँबाट जिल्लातर्फ पठाइएको बताए । ‘क्वारेन्टाईन भनेको वीरेन्द्रनगरमा मात्र नदेखौं न । जुम्लामा, कालिकोटमा पनि छन् । त्यहाँ प्रदेश सरकारको नियन्त्रणमा रहनेगरी पठाइएको हो,’ मुख्यमन्त्री शाहीले भने, ‘ज्वरो आएकाहरूलाई मात्रै क्वारेन्टाईनमा राखेका छौं । जुम्लामा उनीहरू पुगेको खण्डमा अनिवार्य क्वारेन्टाईनमा राखिने छ ।’
मुख्यमन्त्री शाहीले भारतबाट आएकाहरूलाई मानवियताका नाउँमा पनि उद्धार गर्नुपर्ने बताए । ‘उहाँहरूलाई मानवियताका नाउँबाट पनि उद्धार गर्न आवश्यक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब यसपछिका दिनमा हामी क्वारेन्टाईनमा राखिएकालाई मात्रै कर्णाली ल्याउँछौं । त्यसरी उद्धार गर्न बन्द गर्छौ ।’
कर्णाली प्रदेश सरकारले गाडी रिजर्भ गरेर रातारात यात्रु ओसारेका बारबेमा आधिकारिक जानकारी नपाएको गृह मन्त्रालयले नाका बन्द भएको अवस्थामा त्यसरी प्रवेश गर्न दिन नमिल्ने जनाएको छ । ‘सञ्चारकर्मीमार्फत मैले यसको बारेमा जानकारी पाएको छु, अहिलेनै प्रदेश सरकार र सम्बन्धित जिल्लासँग यसका बारेमा बुझ्छु ।’ मन्त्रालयका उपसचिव एवम सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘यदी साँचो हो भने त्यसरी गाडीका गाडी मानिस ओसार पसार गर्न पाईदैन ।’ प्रदेश सरकारले समन्वय गर्न भनेका हौं । त्यसबारेमा तत्कालै कुरा हुन्छ ।’