बुटवल । कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमै ज्यान गएका पाल्पा रिब्दिकोटका ३४ वर्षीय बाबुराम थापाको शव अँझै उठ्न सकेको छैन् ।
गएको चैत १६ गते दिउँसो मृत्यु भएका थापाको शव नौं दिनसम्म पनि उठ्न नसकेको हो ।
मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै शव उठाउन नमाने पछि शव नउठेको हो । तर सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको भन्दै मृतकको परिवार रुष्ट छ ।
पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । ‘अस्पतालले उपचारमा लापरवाही गरेको होइन भने सीसीटीभी फुटेज सार्वजनिक गरेर हाम्रो चित्त बुझाउनुपर्छ,’ मृतकका जेठान कमल टण्डनने भने, ‘अप्ठेरो परिस्थितिको बहानामा मान्छेको ज्यानमाथि भएको लापरवाही र खेलवाड गर्नेलाई हामी कदापी छाड्दैनौ ।’
दुबईबाटै ज्वरो लिएर आएका थापालाई ज्वरो निको नभएपछि चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत १६ गते दिउँसो १ बजे उनको मृत्यु भयो । मृत्यु भएकै दिन मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा अर्को दिन रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।
थापाको उपचारबारे मृतककी पत्नी, आफन्त, सरोकारवाला र स्वास्थ्य क्षेत्रका जानकार सबैले अस्पतालको लापरवाहीका कारण ज्यान गएको कुरामा एकमत रहेकाले कि त निष्पक्ष छनबिन हुनुपर्ने, कि त आशंका हटाउन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रेहको टण्डनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन्
उनले बाबुरामको स्वाब परीक्षणका लागि पठाइएको हो भन्नेमा पनि शंका रहेकाले त्यसको पुष्टिका लागि सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने तर्क गरे । ‘राहत र रोजगारीका कुरा तपसिलका कुरा हुन्, मुख्य माग उपचारमा भएको लापरवाहीको छानबिन हुनैपर्छ र सीसीटीभी फुटेज देखाएर पीडित परिवारलाई चित्त बुझाउनुपर्छ,’ टण्डनले भने, ‘आफ्नो नागरिकको आफ्नै अस्पतालमा ज्यान गएको आठ दिनसम्म शव नउठ्दा पनि सरकारी पक्षले पीडित परिवारसँग सोधपुछ नगर्नु संवेदनाविहीन र चरम अमानवीय व्यवहार हो ।’