काठमाडौं। कोभिड–१९ विरुद्ध खोपको परीक्षण गरिहरेको अस्ट्रेलियाको एउटा अनुसन्धान संस्थालाई दिँदै आएको अनुदान अमेरिकी सरकारी संस्थाले कटौती गरिदिएको छ। सामान्य सुधारपछि उक्त खोप कोभिड–१९ विरुद्ध प्रभावकारी हुने आकलन वैज्ञानिकहरूको छ।
सन् २०१० देखि यो खोपको परीक्षण शुरु भए पनि अहिले फैलिइरहेको महामारीका लागि प्रभावकारी हुने आशा गरिएको छ।
खोपका परीक्षणहरू असफल भए पनि यसबाट पाउने ज्ञानले प्रभावकारी खोपको विकास गर्न लाग्ने एक वर्ष जोगाउने वैज्ञानिकहरूको तर्क छ।
“त्यति धेरै पैसा पनि चाहिएको थिएन। हामी निष्कर्षको नजिक पुगिसकेका थियौं,” अस्ट्रेलियन भ्याक्सिन प्रोजेक्टको नेतृत्व गरिरहेका फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्मी प्राध्यापक निकोलाई पेत्रोभ्स्की भन्छन्, “यो खोपमा थोरै परिमार्जन गरेर कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिन्थ्यो।”
सन् २००८ देखि नै वैज्ञानिकहरूले चमेराबाट मानिसमा कोरोना भाइरस सर्न सक्ने र यसले विश्वव्यापी महामारी फैलिन सक्ने चेतावनी दिइरहेका थिए। उनीहरूको चेतावनीलाई बारम्बार बेवास्ता गरियो। र, कोरोना भाइरसविरुद्ध तयार पारिएका कम्तिमा तीन खोपहरूको अनुसन्धानलाई दिँदै आएको अनुदान मान्छेमा परीक्षण गर्ने तयारीमा पुग्ने बेलामा रोकियो।
प्राध्यापक पेत्रोभ्स्कीलाई संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ् हेल्थ (एनआईएच) ले सन् २००४ देखि सार्स भाइरसविरुद्धको खोप विकास गर्न अनुदान दिँदै आएको थियो। सार्स भाइरस कोभिड–१९ को कारक सार्स (कोभ–२) भाइरसकै परिवारको भाइरस हो।
यी दुवै भाइरस चमेरामा पाइन्छन् र दुवैको डीएनएमा ७९ प्रतिशत समानता छ। सार्स भाइरसविरुद्ध बनाइएको खोप सार्स (कोभ) २ मा सफल नभए पनि मानिसमा गरिने यसको परीक्षणले अरू खोपहरू निर्माण गर्न महत्वपूर्ण तथ्यहरू उपलब्ध गराउँथे।
“यी खोप परीक्षण अगाडि बढेको भए अहिले हामी निकै सहज परिस्थितिमा हुन्थ्यौं,” नोबल पुरस्कार विजेता इम्युनोलोजिस्ट प्राध्यापक पिटर डोहर्टी भन्छन्।
एनआइएचबाट ३ करोड अमेरिकी डलर पाएका प्राध्यापक पेत्रोभ्स्कीका अनुसार उनलाई हरेक चरणको सफल परीक्षणपछि थप अनुदान उपलब्ध गराउने गरी सार्स भ्याक्सिनको मानिसमा परीक्षण गर्दासम्म अनुदान दिइने कबुल गरिएको थियो।
उनले १५ लाख अमेरिकी डलरमै जनावरमा खोपको सफल परीक्षण सकेका थिए।
तर, सन् २०१० मा एनआईएच पछि सर्यो। उसले इबोला र इन्फ्लुएन्जातर्फ केन्द्रित हुने भएकाले सार्स खोपको अनुसन्धानका लागि थप अनुदान उपलब्ध नगराउने बतायो।
“यो निकै गलत थियो। यो केवल ‘सार्स अनुदान कटौती’को मात्र कुरा थिएन, यो त आजको समस्याको समाधानको पनि कटौती थियो,” प्राध्यापक पेत्रोभ्स्की भन्छन्, “उनीहरूले पहिले नै लाखौं डलर खर्च गरिसकेका थिए भने अन्तिममा आएर के कारणले अनुदान कटौती गर्नुपर्यो बुझिनसक्नु छ।”
एनआईएचले यसबारेको टिप्पणीको कुनै जवाफ दिएको छैन।
आफूले पटक(पटक महामारी रोक्ने खोप अनुसन्धानका लागि गरेको प्रस्ताव अस्वीकार गरिएकाले अस्ट्रेलियाली अनुदानका लागि आवेदन नगरेको प्राध्यापक पेत्रोभ्स्कीले बताए।
“अस्ट्रेलिया सरकारले हाम्रो उपस्थिति नै नभए जस्तो गर्छ त्यसैले आवेदन दिनुको कुनै अर्थ नभएको टुंगोमा हामी पुग्यौं,” उनी भन्छन्।
स्वास्थ्य विभागका प्रवक्ता भने प्राध्यापक पेत्रोभ्स्कीका विभिन्न अनुदान आवेदनलाई अनुदान दिइएको बताउँछन्। उनका अनुसार सन् २०१९ मा १६ करोड ७९ लाख अमेरिकी डलर संक्रामक रोगको अनुसन्धानका लागि खर्च गरिएको छ।
प्राध्यापक पेत्रोभ्स्कीले अहिले नयाँखाले सार्स भ्याक्सिनको परीक्षण गरिरहेका छन्, जसमा थोरै सुधार गर्दा कोभिड(१९ विरुद्ध प्रभावकारी हुने उनको अनुमान छ।
अर्को सार्स खोप परियोजना अमेरिकाको बेयलर कलेजको नेतृत्वमा भइरहेको थियो। उक्त परियोजनालाई सार्स भ्याक्सिनको उत्पादन र परीक्षण मात्राको विकासका लागि एनआईएचले ६० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो। तर, उक्त परियोजनालाई पनि मानिसमा परीक्षण गर्न चाहिने ३० देखि ४० लाख डलर अनुदान उपलब्ध गराइएन।
यो परियोजनाकी सदस्य एवं ‘टेक्सास चिल्ड्रन्स सेन्टर फर भ्याक्स्नि डेभलपमेन्ट’की सह(निर्देशक प्राध्यापक मारिया बोटाज्जीका अनुसार परियोजना पूर्ण हुनेगरी अनुदान उपलब्ध गराइएको भए कोभिड(१९ विरुद्धको खोप तयार पार्न लाग्ने समयको कम्तिमा एक वर्ष कटौती हुने थियो।
यो कलेजले अहिले सार्स(कोभ(२ विरुद्धको खोपको पुनः परीक्षण गरिरहेको छ।
तेस्रो परियोजना क्यानडामा शुरु भएको थियो, जसको नेतृत्व इस्ट क्यारोलिना युनिभर्सिटीमा इम्युनोलोजीका सह(प्राध्यापक राचेल रोपले गरेकी थिइन्। सार्सविरुद्धको खोप तयार पारेर मानिसमा परीक्षण गर्न उक्त परियोजनालाई स्थानीय सरकार र केही संस्थाले अनुदान उपलब्ध गराइरहेका थिए।
तर, सन् २००८ मा सार्सको महामारी रोकिएपछि अनुदान पनि रोकियो।
सन् २००९ मा डा। रोपरले प्रकाशन गरेको लेखमा सार्स भाइरस जनावरबाट मानिसमा सर्ने क्रम नरोकिएको भन्दै ‘अर्को महामारी फैलिन सक्ने’ चेतावनी दिएकी थिइन्। अरू थुप्रै वैज्ञानिकको चेतावनी जस्तै उनको सुझावलाई पनि बेवास्ता गरियो।
अहिले जनावरहरूमा दुई वटा कोभिड–१९ प्रतिरोधी खोपको परीक्षण गरिरहेका अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपेयर्डनेसका निर्देशक प्राध्यापक ट्रेभर ड्रियु भन्छन्, “हामीलाई अर्को महामारी आउँदैछ र यो सम्भवतः चमेराबाट मानिसमा फैलिनेछ भन्ने थाहा थियो। स्पष्टसँग के भन्न सकिन्छ भने ती खोपहरू परीक्षण गर्न दिइएको भए हामीले धेरैथोक जानिसकेका हुन्थ्यौं।”
(‘द सिड्नी मर्निङ हेराल्ड’का लागि लियाम म्यान्निक्सले २९ चैतमा लेखेको रिपोर्ट वी आर सो क्लोज स् थ्री पोटेन्सियल कोभिड–१९ भ्याक्सिन्स ह्याड फन्डिङ कट को अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)