रौतहट — रौतहटको ईशनाथ नगरपालिकाको औरैयास्थित जनता मावि क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस९कोभिड–१९० संक्रमण पुष्टि गरेको १९ वर्षीय युवक बसेकै क्वारेन्टाइनबाट चैत २७ गते ११ जनालाई बिनापरीक्षण छाडिएको थियो। उनीहरु सबैलाई र्यापिड टेस्टिङ किटबाट परीक्षणका लागि मंगलबार क्वारेन्टाइन बोलाइएको छ।
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरबाट घर फर्केका ईशनाथ ३ का ११ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। नगरपालिकाका स्वास्थ्य संयोजक ईशराजलु खानले चैत १२ गते देखि क्वारेन्टाइनमा बसेका उनीहरुमा १५ दिनसम्म कुनै किसिमको लक्षण नदेखिएपछि घर पठाइएको बताए। ‘त्यो बेला टेस्ट गर्न जनकपुरबाट चिकित्सहरु पनि आउनु भएन्। साधन पनि थिएन,’ उनले भने, ‘दुई सातासम्म कुनै लक्षण नदेखिएपछि घर पठाएका हांै। उनीहरु सबैलाई टेस्टका लागि बोलाएका छौं।’
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वाब परीक्षणका लागि लैजाने चिकित्सकको टोली समयमा नआएको र चैत २८ गते मात्र आएकाले अघिल्लो दिन नै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई सोधेर ११ जनालाई घर पठाइएको जानकारी दिए। प्रजिअ घिमिरले क्वारेन्टाइनको प्रोटोकल९मापदण्ड० पूरा गरेको र साधनको अभावले टेस्ट गर्न नसकेको बताए।
‘अब त्यही क्वारेन्टाइनमा बसेकालाई कोरोना संक्रमण देखिएपछि सतर्क र सजग हुनै पर्यो,’ उनले भने, ‘त्यति बेला छाडिएकालाई अहिले र्यापिड किटबाट टेस्ट गरिन लागिएको छ।’ त्यो बेला क्वारेन्टाइनमा ४० जना बसेका थिए। तीमध्ये दुई साताको अवधि पूरा गरेका र कारोनाको कुनै लक्षण नदेखिएको भन्दै उनीहरुलाई बिनापरीक्षण छाडिएको थियो। क्वारेन्टाइनमा अहिले ३० जना छन्। उनीहरुमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना संक्रमण देखिएका ईशनाथ ८ का १९ युवक भारतबाट पैदल आएर नेपाल भारत सीमाक्षेत्रको चोरबाटोबाट हुँदै चैत १६ गते घर पुगेका थिए। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न भारत सरकारले तीन सातासम्म आह्वान गरेको ‘लकडाउन’ का कारण सवारी साधन बन्द भएपछि उनीहरु दिल्लीबाट चैत १५ गते औषधि बोकेको ट्रक चढेर बिहारको मोतिहारी आइपुगेका थिए। त्यहाँबाट नेपाल आउन सवारी नपाएपछि पैदल हिँडेर ईशनाथस्थित चैनपुर नाकाबाट चोरबाटो हुँदै नेपाल छिरेको प्रहरीले बताएको छ। संक्रमित युवकलाई आइतबार राति नै वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ।