हुम्ला । हुम्लाका विभिन्न ठाउँमा जिल्लाबाहिरबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको छ । बुधबारसम्म जिल्लामा ६८ जनाको द्रूत परीक्षण (र्यापिड टेस्ट) गरिएको छ । परिक्षण गरिएका ६८ जनाकै रिर्पोट नेगेटिभ भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
बुधबारसम्म सिमकोट २९ जना, नाम्खामा २५ जना, ताजाकोटमा ८ जना र अदानचुलीमा ६ जना गरी ६८ जनाको द्रूतपरीक्षण (र्यापिड टेस्ट) गरेको प्रमुख सिंहले बताए ।
चैत्र २९ गतेबाट विशेषगरी भारतलगायत विदेशी मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु गरिएको हो । यदि पोजेटिभ रिर्पोट आएमा सो व्यक्तिको घाँटी र नाकबाट स्वाब निकाली कर्णाली प्रदेशको सुर्खेत स्थित प्रदेश ल्याबमा थप परीक्षणका लागि पठाइने डाक्टर अमित बिष्टले बताए ।
चैत्र १० गतेदेखि हालसम्म हुम्लामा करीव ८ सय ८३ जना भित्रिएकोमा सबैको र्यापिड टेस्ट गरिने भएको हो । अहिलेसम्म ६८ जनाको मात्र र्यापिड टेस्ट भएको छ । जिल्लाका ७ वटै गाउँपालिकामा भित्रिएका व्यक्तिहरुको र्यापिड टेस्टका लागि स्वास्थ्य सेवा कार्यालयबाट स्वास्थ्यकर्मी खटाइएको छ ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकामा जिल्लाबाहिरबाट, भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको र्यापिड टेस्ट गरिनेछ ।
यसका लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरार तथा कार्यालय सहयोगी बिनोद रोकाया खटिएका छन् । उत्तरी नाम्खा गाउँपालिकाका लागि ल्याब टेक्निसियन गोबिन्द आचार्य र कार्यालय सहयोगी नन्द लामा तथा सिमकोट गाउँपालिकाका लागि सिमकोट गाउपालिका स्वास्थ्य शाखालाई जिम्मा लगाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।