काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको ७१औँ स्थापना दिवसका अवसरमा केही दिनयता नेता तथा कार्यकर्तामा देखिएको संका मेटाउँदै नेपकाअध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले हार्दिकताका साथ आफ्नो भेटघाट गरेका छन् ।
स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री समेत रहेका ओलीले गुटबन्दी र अराजकतामाथि विराम लगाउँदै एकता अभियान अघि बढाएको उल्लेख गरे भने दाहालले विदेशी शक्तिहरू नेकपालाई कमजोर पार्न सक्रिय रहेको उल्लेख गरे।
अध्यादेश जारी भएकै दिन साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहाल चर्को रूपमा प्रस्तुत भएका थिएनन्। बरु वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको विपक्षमा बोलेका थिए।
दाहालले त्यो बैठकमा ‘पार्टीमा छलफल गरेको भए राम्रो हुने थियो’ बाहेक अरु भनेनन्। अब निर्णय गर्दा पार्टीमा छलफल गर्ने निर्क्योल निकालेर बैठक सकियो। नेकपाभित्रको तरंग केही शान्त भयो।
तर, फेरि आज जारी भएका छुट्टाछुट्टै विज्ञप्तिले दुई अध्यक्षबीच सम्बन्ध चिसिएको संकेत गरिरहेको अनुमानका बीच दुवै अध्यक्ष बालुवाटारमा एउटै मञ्चमा देखिए।
ब्रिफिङमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु परेको बाध्यताबारे सांसदहरूलाई प्रष्ट्याए भने दाहाल खासै बोलेनन्। उनले प्रधानमन्त्रीको भनाइमा मौन सर्मथन जनाए। ‘मेरो कुरा पनि उहाँकै जस्तो हो’ भन्ने भावमा प्रस्तुत भए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी अध्यादेश र कोरोना भाइरस संक्रमणविरूद्धको लकडाउन लगायतका विषयमा सांसदहरूलाई स्पष्ट गर्न छलफल गरिएको बताए। थापाकाअनुसार छलफल भोलि पनि जारी रहनेछ।
आज संघीय संसदमा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम, बागतमी र प्रदेश १ का सांसदसँग छलफल भएको छ।
सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहानै छुट्टाछुट्टै विज्ञप्ति निकाले।
यसअघि कि नेकपाको तर्फका ‘कार्यकारी’ भूमिका पाएका दाहालले विज्ञप्ति जारी गर्थे भने कि दुवै अध्यक्षको संयुक्त हस्ताक्षर रहेको विज्ञप्ति जारी गरिन्थ्यो।
सकारले ८ वैशाखमा ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशपछि नेकपामा तरंग आएको र दुई अध्यक्षबीच चिसिदै गएको सम्बन्धमा थप बल पुगेको आशंका गरिए। र, त्यही आशंकामा बल पुग्ने काम आजका विज्ञप्तिले गरे।