काठमाडौं। लकडाउनको अवधि र स्वरूपको बारेमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ।
आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
‘लकडाउनको अवधि थप्ने नथप्ने आजको बैठकको मुख्य अजेण्डा छ।’ प्रेस सल्लाहकार थापाले भने, ‘लक डाउनको अहिलेसम्मको अवस्थाको समिक्षा गर्ने र अब कती समयसम्म र कुन अवस्थााके लकडाउन गर्ने भन्ने बारेमा बैठकले औपचारिक निर्णय गर्नेछ ।’
२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाएर भोलि वैशाख १५ गतेसम्म लम्ब्याएको थियो।
उक्त समय सकिने भएकाले आजको बैठकले लकडाउनलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा निर्णय गर्न लागेको हो।
त्यस्तै बैठकमा कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारमा अहिलेसम्म भइरहेको काम र आगामी तयारीका विषयमा पनि छलफल हुनेछ।
मन्त्रिपरिषद्को १२ वैशाखको बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम हिजो बसेको समितिको बैठकले कार्यदल बनाएको थियो।
उक्त कार्यदलले समितिलाई लकडाउन थप एकसाता निरन्तरता दिन सुझाव दिएको छ।
कार्यदलको सुझावसहितका अन्य विकल्पका बारेमा मन्त्रिपरिषद्को बैठकले छलफल गरी निर्णय गर्नेछ।
कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रलाई पूर्ण लकडाउन गरेर अन्यत्र केही खुकुलो बनाउनुपर्ने विषयमा पनि समितिका सदस्यहरुको सुझाव छ।
हिजो नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशमा लकडाउनलाई केही खुकुलो पार्ने विषयमा समितिका संयोजकलाई सुझाव दिइसकेका छन्।
अहिले कोरोना संक्रमणको बढी जोखिम देखिएको प्रदेश १, २ र सुदूरपश्चिम क्षेत्रभन्दा अन्यत्र लकडाउन केही खुकुलो बनाउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
अबको एकसाता लकडाउनलाई निरन्तरता दिदै त्यहाँसम्मको परिस्थिती मूल्यांकन गरेर स्वरूप परिवर्त गर्न सकिने सम्भावना रहेको बताइएको छ ।
हिजो बसेको उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन प्रभावकारी भएको निष्कर्ष निकालेको थियो। कोभिड १९ को जोखिमलाई ध्यान दिँदै ११ चैतदेखि नेपालभर लकडाउन लागू गरिएको छ।
हालसम्म यहाँ संक्रमितको संख्या ४९ पुगेको छ। निको भएर १२ जना घर फर्किसकेका छन्।