काठमाडौं । सरकारले लकडाउनको अवधि दश दिन थप गरेको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले भोली वैशाख १५ गते सकिने लकडाउनलार्य आगामी २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो।
आजको मन्त्रिपरिषद बैठकले अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने र विकास निर्माणका कामहरु गर्न सकिने निर्णय गरेको छ। यद्यपि यसको कार्यविधि नबनेको प्रेस सल्लाहकार थापाले नेपालबोटलाई जानकारी दिए ।
‘उद्योगहरु खोल्न सक्ने भनिएको छ। तर यसको कार्यविधि बनाउन बाँकी छ’ एक मन्त्रीले भने, ‘संक्रमणको जोखिम नभएका ठाउँहरुमा आवश्यक सुरक्षा सतर्कताका साथ उद्योगहरु सञ्चालनको निर्णय गर्न सकिने भनिएको छ।’
नेपालगञ्जमा रहेका हुम्लाका मानिसहरुलाई हवाई साधनबाट लगिने निर्णय भएको अर्का एक मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार उनीहरुलाई नेपालगञ्जमा कोरोना परीक्षण गर्ने र हुम्लामा १४ दिन क्वारेन्टाइनमा राख्ने समेत निर्णय भएको छ।
हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्