सिमकोट । ठूलो संख्यामा जिल्ला बाहिरबाट गएका नागरिकको स्वास्थ्य परिक्षण गर्न कोरोना भाइरस परिक्षण किटको अभाव भएपछि कर्णाली प्रदेश सरकारले फिर्ता लिएको ८० परिक्षण किट हवाई जहाजमार्फत् पठाएको छ ।
आरडिटी चेक जाँचका लागी प्रदेश सरकारले पठाएको कोरोना परीक्षण ४ सय किट पठाए पनि कर्णाली प्रदेश सरकारले ८० वटा किट भने फिर्ता लिएको थियो । प्रदेश सरकारले फिर्ता लिएका ८० वटा किट आज फिर्ता गरेको छ ।
वैशाख १८ गते यता विभिन्न शहरबाट जिल्लाका नागरिक ठूलो संख्यामा जिल्ला भित्रीए पनि किट अभावले उनीहरुको स्वास्थ्य परिक्षण हुन नसकेपछि प्रदेश सरकारले सुक्रबार हवाई जहाजमार्फत उक्त किट जिल्ला पठाएको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनका अनुसार यस अघि बाँकी रहेको किटको प्रयोगले एक सय ९५ जनाको कोरोना परीक्षण गरीएको र उनीहरु सबैको रिर्पोट नेगेटीभ आएको छ ।
पछिल्लो समय भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिएका झण्डै पाँच सय बढीको किट अभावले परीक्षण हुन सकेको छैन् । जिल्ला बाहिरबाट गएका सबै नागरिकलाई सातवटै स्थानीय तहमा व्यवस्था गरिएका ८९ वटा क्वारेन्टाइनमा राखिएको छ ।
विभिन्न माध्यमबाट काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका शहरबाट जिल्ला पुगेका दुई हजार एकसय ६७ जना मध्ये एक हजार अठार जना क्वारेन्टाइनमा बसेका छन् भने होम क्वारेन्टाइनमा एकसय ६० जनामा मात्रै बसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।
प्रदेश सरकारले हुम्ला भित्रीएका २१ सय ६७ जनालाई सो किटले चेकजाँच गर्न नभ्याउने भएको भन्दै हुम्लाको नागरीक समाजले कर्णाली प्रदेश सरकारको ध्यानकर्षण गराएको छ ।
जिल्ला बाहिरबाट हजारौँ व्यक्तिहरुलाई उद्धार गर्ने तर चेकजाँच गर्ने किट भने छैन र जिल्ला भित्रीएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको औचित्य नै नभएको स्थानीय वसन्त रोकायाले गुनासो गरे ।
अहिले जिल्लाभरी क्वारेन्टाइनमा बसेका नागरीकले आफुहरु जिल्ला भित्रीएको पाँच दिन वितेपनि कोरोना छ मि नाइ भनी परीक्षण गर्ने किट नहुँदा आफुहरुलाई घर पठाउन आग्रह गरेका छन् ।