खड्क सुनार
मुगु । जिल्लाको खत्याड गाउँपालिकाले लकडाउन (बन्दाबन्दी)मा आफ्ना ६ सय नागरिकलाई राहत वितरण गरेका छन् ।
गाउँपालिकाले गएको चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण राजधानीमा अलपत्र परेका आफ्ना नागरिकलाई राहत वितरण गरेको हो ।
गाउँपालिकाले राजधानीका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी तथा दैनिक ज्यालादारीमा संलग्न मजदूरलाई राहत वितरण गरेको हो । वैशाख १७ देखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बसोबास गरिरहेकाहरूको डेरामै पुगेर राहत वितरण गरिएको नेकपा मुगुका युवा नेता तथा कणार्ली सम्पर्क मञ्चका कार्यालय सदस्य भक्तबहादुर रावतले जानकारी दिए ।
शनिबारसम्म ६ सय ५३ जनालाई सामाजिक दूरी कायम गर्दै सरकारले जारी राखेको लकडाउन सम्बन्धी नियमको पालना गरेर राहत वितरण जारी राखिएको रावतको भनाई छ । उनका अनुसार खत्याड गाउँपालिकाले राजधानीमा रहेका आफ्नो नगरका नागरिकलाई वितरण गरिरहेको राहत अझंै ८० जनाभन्दा बढीलाई हस्तान्तरण गर्न बाँकी रहेको छ ।
गाउँपालिकाले एक जनालाई २५ सय रकम बराबरको राहत वितरण गरेको छ । ३० केजी चामलसहित दाल, चिनी, नुन, तेल, च्यूरा तथा साबुनसहित वितरित राहत प्याकेज अन्तर्गत २ जना रहेको परिवारका लागि ३८ सय, ३ जनाको परिवारलाई ४७ सय, ४ जना संख्या रहेको परिवारलाई ७ हजार र ५ जनाको परिवार भएकालाई ८४ सय बराबरको सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
राजधानीमा अफ्ठ्यारोमा परेका खत्याड नगरवासीको निवासमै पुगेर राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रमबाट विद्यार्थी तथा मजदूर अत्यन्तै खुसी भएका छन् । राहत वितरण कार्यमा मनोजकुमार शाही, मदन बाँनियाँ, दिपक बानियाँ, दलबहादुर विक, शेरबहादुर कार्की, नमराज कार्की, मणिचन्द्र सार्की, राजनसिँह ठकुरी र नरेन्द्र गिरीलगायतको उल्लेखनिय भूमिका रहेको छ ।