सुर्खेत । विश्वलाई संक्रमीत पारेको कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले प्रदेश अन्तर्गतका १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहररूको टोली खटाएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।
सरकारले शनिबार डोल्पा र आईतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको टोलीलाई हुम्ला पठाइएको छ ।मुगुमा भोलि चिकित्सकहरुको टोली पठाउने तयारी गरिएको छ । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जुम्ला र प्रदेश अस्पतालका चिकित्सकहरुको टोलीलाई २७ स्थानमा खटाएको हो । खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एक महिनासम्म कोरोना परिक्षणलाई तिब्र बनाउने विश्वास लिइएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रिता भण्डारी (जोशी) सहितको टोलीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसिआर मेसिन, भेन्टिलेटर, आईसियु र आइसोलेसन कक्षासहित सिंगो भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।