सुर्खेत । सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत अवस्थामा भेटिएपछि घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । मंगलबार दिउँसो चौकीदेखि करिब ५ सय मिटर टाढा प्रहरी जवान खडकाको शव शंकास्पद मृत अवस्थामा भेटिएपछि उनका आफन्तले छानबिनको माग गरेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कार्यालय प्रमुख डीआईजी बसन्त पन्तले प्रहरी जवानको मृत्युबारे प्रश्न उठेपछि घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको बताए । ‘हत्या हो वा आत्महत्या हो भन्ने कुरा छानबिनपछि थाहा होला,’ उनले भने, ‘निष्पक्ष छानबिन होस भनेरै प्रदेशस्तरीय समिति गठन गरिएको हो ।’
मृतकका दाजु यामबहादुर खड्काका अनुसार चौकीले सोमबारदेखि हराएको भन्दै मंगलबार बिहानमात्र परिवारलाई जानकारी गराएको थियो । ‘जानकारी पाउनेबित्तिकै खोज्ने क्रममा चौकी नजिकै शव भेटायौं,’ उनले भने, ‘चौकीले हराएको एक दिनपछि जानकारी दिनु र नजिकै शव भेटिनुले भाइको गोली हानी हत्या भएको हाम्रो अनुमान छ ।’
मृतक खड्का ऐंसेलुको झाङमुनि सुतेको अवस्थामा दाहिने हातमा पेस्तोल थियो । उक्त पेस्तोल चौकीका इन्चार्ज असई देवबहादुर थलालको हो । ढाडमा निलडाम हुनुका साथै बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाल रहेको खड्काले बताए । ‘घटनास्थलमा हिलो नभए पनि जिउमा भने हिलो लागेको छ,’ उनले भने, ‘आत्महत्या गरेको मान्छेको हातमा पेस्तोल कसरी रहन सक्छ रु’ स्थानीयबासीको भनाई उद्धृत गर्दै मृतकका दाजु यामबहादुरले राति करिब ११ बजे पेस्तोल पड्केको आवाजसमेत सुनिएको बताए । चौकी नजिकै रक्सीको जर्किन पनि भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले घटनामा परिवारले जाहेर नदिए पनि आफुहरुले गम्भीर रुपमा छानबिन थालिसकेको बताए ।
घटनामा संलग्न भएको भनिएका असईसहित चारजना प्रहरीहरुलाई नियन्त्रणमा लिएर छानबिन गर्न मृतक जवानका दाजु यामबहादुरले माग गरेका छन ।