काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूमा देखिएको कोभिड-१९ विरुद्ध लड्न थप सतर्कता, समन्वय र एक ढीक्का भएर अघि बढ्न सबैलाई आव्हान गरेकी छिन्।
संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालेका कदममा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्।
“कोभिड(१९ ले मानव जातिमाथि नै ठूलो संकट पैदा भएको छ”, उनले भनिन, “ जीवन गुमाउने नेपाली र अन्य मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै, उपचारमा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभका कामना गर्दछु।”
कोभिड(१९ ले सबै मुलुकको अर्थतन्त्रमा धक्का पुर्याउनुको साथै उत्पादन र वितरण प्रणाली प्रभावित भएको उनको भनाई छ।
“लाखौंको रोजगारी गुमेको छ। आज विश्व साझा र अदृश्य दुश्मनका विरुद्ध कठीन युद्ध लडिरहेको छ।”,राष्ट्रपतिले भनिन, “कहिले अन्त्य होला भन्ने चिन्ता र भय उत्पन्न भएको छ। थप संक्रमण फैलिन नदिन र थप सतर्कता समन्वय आवश्यक छ।”
उनले कोभिड(१९ विरुद्ध लड्न फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको प्रशंसा गर्दै अत्यावश्यक वस्तुको आपूर्ती सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैमा धन्यवाद व्यक्त गरेकी छिन्।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।