सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको संकट सामाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएको वताएका छन् ।
लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमवार (आज) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका अघि अन्य समस्या गौण भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सवै शक्तिका साथ लडिरहेको बताउदैं मुख्यमन्त्री शाहीले यस संकटको घडीमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
अत्यावश्यक सामाग्रीको आपुर्ति बाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएकोमा जोड दिए ।
'अहिले हामीले निकै नै संकटपूर्ण अवस्था भोगिरहेका छौं, संकट व्यवस्थापनका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सवै नागरिकको कर्तव्य हो ।’ उनले थपे, 'प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र वजेटको तयारी गरिरहेको वताउदै अहिलेको अवस्थामा सरकारले लिने नीतिका सम्बन्धमा नीजि क्षेत्रको सुझाव आवश्यक छ ।'
‘कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शी रुपमा आगामी नीति कार्यक्रम र वजेट निर्माण गर्ने सरकार सोच छ ।’ उद्योग वाणिज्य संघका प्रतिनिधिसंग मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्वोधन कसरी गर्न सकिन्छ ? तपाईहरुको सुझाव सरकारलाई चाहिएको छ ।’
मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेको भन्दै विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि संगै लिईने प्रतिवद्धता व्यक्त गरे।