सुर्खेत । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमण भेटिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका हुन् ।
दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालाका संयोजक ओम आचार्यले जानकारी दिए।
सोमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि कोरोना भएको पुष्टि भएको आचार्यले जानकारी दिए । संक्रमित युवक जेठ १ गते भारतको आगराबाट गाउँ फर्किएका थिए।
योसहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ भने सात प्रदेशका विभिन्न ३४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पहिलोपटक माघ १० गते कोरोना भाइरस संक्रमित देखिएका थिए। त्यसपछि विभिन्न जिल्लामा संक्रमित देखिए पनि कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ जेठ अबेर राति अद्यावधिक गरेको विवरण अुनसार सातै प्रदेशका ३४ जिल्लाबाट संक्रमितको संख्या ३७५ पुगेको हो ।
पछिल्ले पटक दैलेख, गुल्मी, खोटाङ र सुनसरी जिल्लामा पहिलोपटक संक्रमित देखिएका छन्। यी चार जिल्लामा एक। एक जना संक्रमित पहिचान भएका हुन्।
नेपालमा कोरोना भाइरस प्रवेश गरेको चार महीनापछि कर्णाली प्रदेशमा पहिलोपटक संक्रमण देखिएको छ। अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ र २ मा संक्रमित देखिएका छन्। पछिल्लो समयमा यी दुई प्रदेश नै कोरोना संक्रमणको हटस्पट बनेका छन्। बाँकेमा आज (सोमबार) मात्र सबैभन्दा धेरै ५९ जनामा संक्रमण देखिएको छ। योसहित बाँकेमा मात्रै संक्रमितको संख्या ९३ पुगेको छ। यसमा एकजनाको मृत्यु भइसकेको छ।
५ जेठमा भेटिएका ५९ जना नै बाँकेको नरैनापुर गाउँपालिकाका हुन्। ४ जेठमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन्। उनीहरू सबै ३० वैशाखमा भारतको मुम्बईबाट भित्रिएका थिए।
प्रदेश ५ का जिल्लाहरूमा संक्रमितको संख्या १६९ पुगेको छ। त्यस्तै, प्रदेश २ मा हालसम्म संक्रमितको संख्या १३४ पुगेको छ। उक्त प्रदेशका ८ वटै जिल्लामा संक्रमण देखिइसकेको छ। प्रदेश १ मा ४३, बागमतीमा १८, गण्डकीमा ३, सुदूरपश्चिममा ५ र कर्णाली प्रदेशका एकजना संक्रमित पुष्टि भएका हुन्।
नेपालमा संक्रमण देखिएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।
यी हुन् कोरोनाको संक्रमण देखिएका जिल्ला
झापा
मोरङ
उदयपुर
धनुषा
पर्सा
बारा
महोत्तरी
रौतहट
सप्तरी
सिराहा
सर्लाही
चितवन
मकवानपुर
नवलपरासी पूर्व
नवलपरासी पश्चिम
बर्दिया
दाङ
बाँके
रूपन्देही
कपिलवस्तु
कञ्चनपुर
कैलाली
भोजपुर
काठमाडौं
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
भक्तपुर
धादिङ
बागलुङ
धनकुटा
गुल्मी
दैलेख
सुनसरी
खोटाङ