काठमाडौँ । लिपुलेक क्षेत्रमा नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा बिन्दु निर्धारणको काम बाँकी रहेको भन्दै चीनले यस्तो अवस्थामा उक्त बिन्दुमा कुनै पनि मुलुकले एकल निर्णयका आधारमा कुनै प्रकारको गतिविधि अघि नबढाउन चीनले चेतावनी दिएको छ ।
गत साता भारतले नेपालको सिमानामा पर्ने लिपुलेक हुँदै चीनको मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि सुरु भएको विवादका बीच उत्तरी छिमेकी चीनले यस्तो चेतावनी दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित कार्यवाहक नेपाली राजदूत सुशील लम्साललाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकसहितका भूभागबारे चीनको लिखित धारणा प्रस्तुत गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार चीनको उक्त धारणाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न अवगत गराइएपछि ओलीले मंगलबार संसद्मा यसबारे औपचारिक रूपमा जानकारी गराएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पनि मंगलबार अपराह्न बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे उठेका जिज्ञासाको जबाफ दिने क्रममा ‘परिस्थितिलाई जटिल बनाउने गरी कसैले पनि एकपक्षीय काम गर्न नहुने’ बताए ।
प्रवक्ता झाओ लिजियानले ‘कालापानी क्षेत्र नेपाल–भारतबीचको मामला’ रहेको उल्लेख गर्दै सधैंझैं यो समस्या सुल्झाउन आपसी ‘मित्रवत् कुराकानी’ जरुरी रहेको बताए । प्रवक्ता लिजियानलाई कालापानी क्षेत्रमा भारतले बनाइरहेको सडक र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको प्रतिक्रियात्मक धारणा तथा नेपालको प्रतिवादका बारेमा जिज्ञासा राखिएको थियो । ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादबाटै यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’ जबाफमा प्रवक्ता लिजियानले भने । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि उब्जिएको बहस र त्यसअघि भारतीय सेना प्रमुख नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो ।
‘अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नु हँुदैन,’ प्रवक्ता लिजियानले संकेतमा भने । ‘कसैको उक्साहटमा लागेर नेपालले लिपुलेक मामलामा भारतको विरोध गरिरहेको’ भन्ने भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति कुनै टिप्पणी नगरी लिजियानले चीन ‘नेपाल–भारत मित्रवत् संवाद’ को पक्षमा रहेको बताए ।