बाँके । भारतमा रहेका दुई हजार सात सय ३८ जना नेपाली नेपालगञ्ज नाकामा हुँदैं स्वदेश प्रवेश गरेका छन् । स्थानीय प्रशासनको निर्णय अनुसार, बाँके प्रहरीले नाकामा भारततिर फसेका नेपालीलाई भित्र्याइएको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नेपालगञ्ज नाकाबाट दुई हजार सात सय ३८ जना नेपालीलाई नेपाल ल्याएको जानकारी दिए । भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु घर फर्किँदा लकडाउनले गर्दा नाकामा अलपत्र परेका थिए ।
नेपाल आएका विभिन्न जिल्लाका मानिसलाई सवारी साधनको व्यवस्थापन गरेर सम्बन्धित जिल्ला पठाइएको छ । रातिदेखि नै यो क्रम चलिरहेको छ । यो नाकाबाट कर्णाली, सुदूरपश्चिमलगायत बुटवल पूर्वका मानिसहरु भित्रिएका छन् ।
२७ सय ३८ जना मध्ये बाँकेका पाँच सय हाराहारीका छन् । उनीहरुलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर सम्बन्धित पालिकामा पठाइएको छ ।
नाकामा फसेका नेपालीलाई यसअघि नेपाल भित्र्याउदा आरडीटी जाँच गरिएको थियो । यसपाली कुनै जाँच गरिएको छैन । सिधै नाकामा गाडी बोलाएर पठाइएको छ । नेपालीलाई नेपाल ल्याउदा बाँकेमा फसेका भारतीयलाई भारततिर पठाइएको छ । प्रहरीका अनुसार, दुई हजार आठ सय ११ जना भारतीयलाई पठाइएको छ ।
यसैबिच, भेरी अस्पताल, नेपालगञ्जमा कोरोना परीक्षणको चाप बढेपछि जिल्लाका केही स्याम्पल दाङ पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार बुधबार नरैनापुरबाट संकलन गरिएको २ सय २३ वटा स्याम्पल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पीसीआर ल्याब घोराही दाङ पठाइएको छ ।
भेरीमा बाँकेका साथै बर्दियाबाट समेत धेरै स्याम्पल आएकाले नरैनापुरबाट लिइएको स्याम्पल दाङ पठाइएको हो । दाङ पठाइएको स्याम्पलको पोजिटिभ देखिएमा भेरीले ‘रिचेक’ गर्नेछ । जिल्लामा ५ सय ४६ वटा स्याम्पल रिपोर्ट आउन बाँकी रहेको छ । बाँकेमा ९९ जनामा कोरोना देखिएको छ । तीमध्येमा एकजनाको मृत्यु भइसकेको छ ।