सुर्खेत । नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पतालहरुलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका ८० लाख बराबरको स्वास्थ्य सामग्री दिएको छ ।
शाहले कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । हुम्ला जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, मुगु जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डोल्पा जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, कालिकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुअल, दैलेख जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी भ्याकुम सेट, जाजरकोट जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजर, सल्यान जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर र रुकुम पश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर दिईएको कुमारी ट्रष्टका अध्यक्ष राजिवबिक्रम शाहीले बताए । ‘हामीले कर्णालीमा कसरी स्वास्थ्य सेवाका पहुँच बृद्धि गर्ने सोचेर सहयोग गरेका हौं ।’ उनले भने, ‘कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौभलिक विकटता मात्र यहाँको स्वास्थ्य पूर्वाधार र जनशक्ति अवस्था नाजुक रहेको छ ।’
कोरोना बिरुद्ध लड्नका लागि सानो भएपनि कर्णालीका अस्पताललाई सहयोग गरेको शाहले बताए । ‘महामारी बिरुद्ध एक्लै सरकारले मात्र लड्न सक्दैन् ।’ उनले भने,‘हामी सबै मिलेर चुनौतीको सामना गर्न सक्छौं ।’
शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच पनि केही राहत भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘हामी अहिले सबै कोरोना बिरुद्ध लडिरहेका छौं ।’ उनले भने,‘कर्णालीका स्वास्थ्यको पहुँच बृद्धि गर्नका लागि तत्पर छौं ।’
अहिले कर्णालीका कोरोनाका बिरामी एक जना भेटिएको भारतबाट आएका नागरिकका कारण चुनौती थपिएको मुख्यमन्त्री शाहीले बताए । ‘अहिले हाम्रो चुनौती भनेको भारतबाट आएका नागरिकबाट हो ।’ उनले भने,‘८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेका छन् ।’