काठमाडौं । चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको जनाएको छ । लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ । मार्च १६ देखि २७ को बिचमा जम्मा एक सय ८ जना प्रोढहरुलाई यो खोप लगाइएको थियो ।
रिपोर्टमा उल्लेख गरिए अनुसार यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ ।
अनुसन्धानकर्ताहरुले यसले कोरोना विरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । उनीहरूले अब थप अनुसन्धानपछि चाडै यसलाई आम नागरिकमा प्रयोग गर्ने अवस्था आउनेमा आशावादी रहेको भनेका छन् । लेनसेटले लेखेको छ, ‘यो कोरोना महामारीबाट प्रताडित मानव जातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ । अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भई सक्ने छ।’
कोभिड विरुद्ध यसले पैदा गर्ने प्रतिरोधी एन्टीवडीले कतिसम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवश्यक रहेको लेनसेटको विज्ञप्तिमा उल्लेख छ ।
त्यसो त यसको विकासले कोरोनाबाट शत प्रतिशत सुरक्षित बन्न सक्ने वा नसक्ने भन्ने पनि अनुसन्धान हुन् बाँकी नै छ । यो खोपले विकास गरेको प्रतिरोधी क्षमताको परीक्षण मात्र अब बाँकी रहेकोले पछिल्लो उपलब्धि बाट धेरै आशा गर्न सकिन्छ ।
यसको प्रभावले के गर्न सक्ने वा नसक्ने अवस्था हो भन्ने निष्कर्षमा पुग्न अझै केही समय थप परीक्षणमा लाग्ने उल्लेख गरिएको छ । यो खोप बेइजिंग इन्स्टिच्युट अफ बायोटेक्नोलोजीकी प्रोफेसर वेई चियनको नेतृत्वमा तयार भएको सिनह्वाले लेखेको छ । यी खोपहरूबाट सबैमा सकारात्मक असर देखिएको जनाइएको छ ।
कोरोनाले शरीरको कमजोर कोशिका र प्रोटिनहरूमा हमला गर्ने भएकाले त्यसलाई रोक्न सक्षम र सुरक्षित भ्याक्सिन बनाउन जोड दिएको यसका अनुसन्धानकर्ताहरूको भनाई छ । वुहानमा कोरोना फैलिएपछि चीन कोरोना विरुद्धको भ्याक्सिन आविष्कारमा जुटेको थियो ।
अनुसन्धानको सुरुमा जनावरमा र त्यसपछि युवामा गर्दै यो पछिल्लो परीक्षण प्रौढ र वृद्धहरूमा गरिएको हो । करिब एक महिना अघि एक सय ८ जना प्रौढ र बृद्धहरुलाई यो खोप दिइएको थियो । जसबाट ती मानिसहरूमा प्रतिरोधी क्षमताको विकास भएको पाइएको हो ।
साथै लेनसेटले भनेको छ , यो भ्याक्सिन सबैका लागि उपलब्ध हुन अझ धेरै समय लाग्न सक्छ । हाल अमेरिका, बेलायत लगायत ३० भन्दा बढी देशले भ्याक्सिन परीक्षण गरिरहेका छन् । ती मध्य सबै भन्दा अग्रस्थानमा चीन रहेको छ ।