काठमाडौं। गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कोरोना संक्रमित भएको जानकारी १२ जेठ साँझ पाएका थिए। आज भने उनी संक्रमित भएको खबर देशभर फैलिएको छ।
देखापढीसँग टेलिफोन सम्पर्कमा आएका उनले आफूलाई संक्रमणका कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि ठिक रहेको बताए।
राजनीतिक जिम्मेवारीमा समेत रहेकाले मतदाताले आफ्नो स्वास्थ्यअवस्थाबारे जानकारी पाउने अधिकार भएको भन्दै नाम र तस्वीर प्रकाशन गर्न अनुमतिसमेत दिएका छन्।
कोरोना भाइरस सिर्जित संकटको व्यवस्थापनमा रातदिन खट्दै आए पनि आफूले सामाजिक दूरी कायम गरेर त्यस्तो काम गरेको दाबी गर्ने उनले संक्रमण कसरी भयो भन्नेबारे भने अनभिज्ञता प्रकट गरे। “क्वारेन्टाइनको व्यवस्थापन गर्ने र अरू व्यवस्थापकीय काममा त म हरेक दिन खट्दै आएको छु”, उनले भने, “तर, कुन स्रोतबाट संक्रमण भयो भन्नेबारे केही बुझ्नै पाएको छैन ।”
जिल्लास्तरीय बैठकहरूमा सहभागी हुँदै आएको भए पनि आफूबाहिर कतै नगएको उनले बताए।
छिमेकी मदाने गाउँपालिकाका शिक्षक संक्रमित भएर बुटवलमा उपचार गर्दागर्दै मृत्यु भएपछि अध्यक्ष पोखरेलले आफूसँगै दैनिक काममा खट्ने अर्का एक व्यक्ति र आफ्नो आरडीटी परीक्षण गराएका थिए ।
त्यसक्रममा आफ्नो आरडीटी परीक्षण नेगेटिभ आएको र अर्का व्यक्तिको पोजिटिभ आएको बताए। “त्यो रिपोर्टपछि हामी दुवैले पीसीआर परीक्षण गरायौं, त्यसक्रममा उनको नेगेटिभ आयो भने मेरो पोजिटिभ आएछ,” उनले भने।
आफ्नो अवस्था सामान्य भएको, आफू स्वस्थ नै रहेको र कुनै लक्षणसमेत नदेखिएका कारण आफू घरमै आइसोलेसनमा बस्ने तथा सामाजिक दूरी कायम गर्ने उनले बताए । जिल्लामा अस्पतालमा आइसोलेसन वार्डहरू बनाइएको भए पनि त्यहाँ स्वास्थ्य जोखिममा रहेका व्यक्तिलाई राख्नुपर्ने भन्दै उनी आफ्नो स्वास्थ्य अवस्था बिग्रिएमा वा लक्षणहरु देखिन थालेमा मात्रै अस्पताल जाने बताए।
उक्त गाउँपालिकामा हालै भारतबाट आएका तीनजनामा परीक्षण गर्दा एकजनामा पोजिटिभ आएको भन्दै दीर्घ रोगीसमेत रहेका ती व्यक्तिलाई भने अस्पताल पठाएको उनले बताए।
घरमा दीर्घ रोगी र बुढ्यौली उमेरका अभिभावकहरू भएका परिवारमा बाहिर काममा निस्कने युवाहरुले घरभित्रै पनि सामाजिक दूरी कायम गर्नुपर्ने उनको सुझाव छ। “दीर्घ रोगी र बुढ्यौली उमेरका व्यक्तिहरूसँगको सम्पर्क टुटाइहाल्न पर्ने छ, म घरबाहिर गइरहनुपर्ने सबैलाई आफ्नो घरभित्रसमेत सामाजिक दूरी कायम गर्न अनुरोध गर्छु,” उनले भने, “त्यसो गर्न सकियो भने कोरोनाका कारण हुने मृत्युदर धेरै हदसम्म घटाउन सकिन्छ ।”
उनी आफू संक्रमित भएको थाहा पाएपछि पनि नआत्तिएको र उच्च मनोबल लिएको बताए। आफू चाँडै नै कोरोनामुक्त भएर फेरी सामाजिक काममा खट्ने पनि उनले बताए । “कोरोनामुक्त नहोउन्जेल आइसोलेसनमा बस्नुपर्यो, म चाँडै मुक्त भएर पुरानै अवस्थामा काममा फर्कने विश्वास लिएको छु”, उनले भने।
यसैबीच गाउँपालिका अध्यक्ष पोखरेलले एक विज्ञप्ति प्रकाशन गरेर आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। आफू गाउँपालिका र सदरमुकाम तम्घास मात्र पुगेको बताउँदै उनले भनेका छन्, ‘यो बीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टाइनमा नै बस्नमा लागि अनुरोध गर्दछु।’
आफ्नो अवस्था सामान्य रहेको हुँदा आत्तिन नपर्ने तर उच्च सतर्कता अपनाउन जरुरी रहेको उनले बताएका छन्। संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने समयलाई आफूले अवसरको रूपमा प्रयोग गर्ने उनले प्रण गरेका छन्। विज्ञप्तिमा लेखेका छन्( ‘यो रोग समयमै पहिचान भएकोले केही हप्ता म एकान्तवास बस्नु पर्ने भएको छ। यस संकमणलाई मैले अवसरको रूपमा लिएको छु। मेरो एकान्तवास यस रोगका विरुद्ध लड्ने र समग्र धुर्कोट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्कोट निर्माणका लागि रहने छ।’
धुर्कोट गाउँपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सम्पूर्ण सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको पनि उनले जनाएका छन्। त्यस्तै गरी गाउँपालिकाको केन्द्र बर्बोट क्षेत्रदेखि वडा नं। ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको छ।